एजेन्सी, पुस १८ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट निश्कासित ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन् । निष्काशनमा परेका कूटनीतिज्ञ आफ्नो परिवारसहित अमेरिका छाडेको विवीसीले जनाएको छ ।
गत नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा साइबर आक्रमणमा संलग्न रहेको आरोप लगाउँदै ओबामाले ती कूटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाड्न निर्देशन दिनु भएको थियो ।
राष्ट्रपति ओबामाले रुसले अमेरिकी अधिकारीलाई निकै दुःख दिएकाले कठोर कदम चाल्नुपरेको जिकीर गर्नु भएको छ ।
ओबामाको यस्तो कदमपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफूहरु गैरजिम्मेवार कूटनीतिमा नअल्झने प्रतिक्रिया दिनु भएको छ ।
नवनिर्वा्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनको भनाइको प्रशंसा गर्दै रुसमाथि लगाइएको आरोपको छानबीन गर्ने बताउनु भएको छ । साथै उहाँले आफ्नो कार्यकालमा रुस सँगको सम्बन्ध राम्रो हुने बताउनु भयो ।