१.अग्रेजी वर्ष २०१६ को आज अन्तिम दिन हो । सन् २०१६ संसारभर केही घटनाक्रम र परिणामहरुका कारण उच्च चर्चामा रहे ।
त्यस मध्य अमेरीकाका लागि नवनिर्वाचीत राष्ट्रपति डोनाल्ड ट्रम्प सबै भन्दा बढी चर्चामा रहे । संसारभरका सर्बेक्षणहरुलाई आश्चर्यमा पार्दै ट्रम्प राष्ट्रपतिमा आए पछि अमेरीकाको सत्तारुढ डेमोक्रयाटीक पार्टी संकटमा पर्यो । यस चुनावमा रुसले साईबर ह्याक गरेर ट्रम्पलाई जिताएको आरोपमा ओबामा प्रशासनले ३५ जना कुटनीतिज्ञहरुलाई देश निकाला गर्यो । ट्रम्म उम्मेद्धारीको समय देखि नै विवादास्पद अभिव्यक्तिका कारण चर्चामा थिए ।
राष्ट्रपतिमा चुनिए पछि उनले ताईवानी नेतासगँ गरेको टेलिफोन कुराकानी आदिले चीनलाई शसकित बनाएको छ ।
२.संसारमा चर्चा र विवादमा रहेको अर्को महत्वपूर्ण घटना हो उत्तर कोरीयाको आणविक बमको परीक्षण । अमेरिका लगायत संसारले यस्तो परीक्षण नगर्न चेतावनी र प्रतिवन्धहरु लगाए पनि उत्तर कोरीयाले यस्ता परीक्षण रोकेन र युद्द गरे अमेरीका र दक्षिण कोरीयालाई तहस नहस पार्ने चेतावनी दियो ।
३. यस्तै बेलायतले युरोपले युनियन छोड्ने निर्णय सन् २०१६ को महत्वपूर्ण विश्व घटनाको रुपमा चर्चित छ । सामान्य माग र आन्दोलनका भरमा तात्कालीन प्रधानमन्त्री डेविड क्यामरुनले जुन २३ मा जनमत संग्रह गराउन पुग्दा ५२ प्रतिशत जनताले बेलायत अलग हुने निर्णय गरे पछि क्यामरुनले राजीनामा समेत दिएका थिए । यो परिणाम पछि अदालतमा बिचाराधीन मुद्धा बनेको छ भने यूरोपेली युनियनमा ठूलो खैलाबैली मच्चिएको थियो ।
४. फ्रान्स सहित यूरोपमा विभिन्न देशमा आतंकवादी आक्रमण पनि सन् २०१६ को चर्चित घटनाहरु हुन् । फ्रान्सको निस सहरमा एक व्यक्तिले राष्ट्रिय दिवस मनाइरहेका सयौं मानिसहरुको भीडमा शक्तिशाली विस्फोटक पदार्थले भरिएको ट्रक ठोकाएर ८४ जना नागरिकको हत्या गर्यो ।
गएको मार्च २२ मा बेल्जियमको ब्रसेल्सको एक विमानस्थल र रेल स्टेसनमा आतंककारी हमला भयो । त्यसबाट कम्तीमा पनि ३४ जना निर्दोष नागरिक मारिए र अरु दर्जनौँ घाइते भएर बसे । त्यो भन्दा ठूलो बर्बरता देखियो
आधुनिक समाजको आतंककारी बर्बरतासहितको यो अती क्रुर नमूना थियो । यो ट्रक हमलाले वर्षको उत्तररार्धतिर पनि छोएर गयो जर्मनीको बर्लिन सहरमा । त्यहाँ पनि केही नागरिकको यो हमलाबाट ज्यान गयो । यसरी सिंगो युरोप यतिखेर यस्तो आतंककारी हमलाबाट सताइएको छ । युरोपले यसका विरुद्धमा ठूलै सङ्घर्ष गर्नुपर्ने अवस्था देखिन्छ सिंगो युरोप बनेर ।
५. टर्कीमा सैनिक विद्रोह चर्चित घटना भित्र पर्छ यो वर्षको । जुलाई १५का दिन टर्कीका राष्ट्रपति रिसेप तयप एर्दाेगान बिदामा रहेका बेला त्यहाँको सेनाले असफल कू को प्रयास गर्यो ।
सेना रातिको समय पारेर सडकमा ओर्लियो र जथाभावी आक्रमण गर्यो । सरकारी टेलिभिजन नियन्त्रणमा लियो, सैनिकलाई नियन्त्रणमा लियो र सत्ता लिएको प्रचार गर्यो । सेनाको एक टुकडीले गरेको यो प्रयास सफल भएन र जसले गर्दा त्यहाँका हजारौं हजार कर्मचारी, सेना, प्राध्यापक, शिक्षक लगायतले जेलमा बिताउनुपर्यो । त्यस्तै कम्तीमा पनि ५० हजार जनाले जागिर गुमाए भने २ सय जति मारिए ।
६.सिरिया त गएका कैयौं वर्षदेखि नै चर्चाको शिखरमा छँदै नै छ । यस वर्ष पनि सिरियाका कारण वर्षको सुरुवातमै अर्थात् फेब्रुअरी २७ मा रसिया र अमेरिकाले सिरियाको बारेमा संयुक्त युद्धविराम प्रस्ताव ल्याए र त्यसमा समर्थन गर्ने भए । त्यसले अब सिरियामा शान्ति स्थापना हुने भयो भन्ने आशालाई संसारभरी नै जगायो । तर परिस्थिति त्यही रुपमा रहेन उही पुरानै हिंसाको बाटोमा फर्कियो । पाँच वर्षदेखि हिंसाको चपेटामा परेका सिरियाली जनताको आशाको दियो धेरै बलेन र पुनः उही हिंसा सुरु भयो । अहिले पनि सिरियाको हिंसा संसारमै चहराएको छ । र पछिल्लो समय रुस र ईरानको सहयोगमा सिरीयाली सेनाले अमेरीका समर्थित विद्रोही र आईएसलाई तह लगाउदै एलेप्पो शहर पूर्ण रुपले नियन्त्रणमा लिन सफल भएको छ ।
७. दुई महिला राष्ट्रपति विवादमा परेको घटना पनि चर्चित छ यस वर्ष । ब्राजिलकी डिल्मा रुसेफ र दक्षिण कोरियाकी पार्क गेउन हाईविरुद्धको महाअभियोग प्रस्तावले पनि संसारको मिडियाको ध्यान तानेको हो । ब्राजिलमा रुसेफलाई हटाइएसँगै एक ठूलो ल्याटिन अमेरिकी मुलुकमा गएको करिब डेढ दशकपछिको वामपन्थी झुकावको वर्कस् पार्टीको शासन हट्यो । भने महिनौं लामो सडक आन्दोलन र विपक्षीहरुको विरोधका बाबजुद उता दक्षिण कोरियाली राष्ट्रपति हाइलाई पनि हटाइएको छ ।
८. त्यस्तै बर्षको लगभग उत्तरार्धका दुई विश्व चर्चित घटना बने संयुक्त राष्टसङ्घका महासचिवको नियुक्ति भयो । उनले सपथ पनि लिइसकेका छन् भने अब नयाँवर्षसँगै उनले कार्यभार सम्हाल्ने छन् ।
९. त्यस्तै क्युबाली राष्ट्रपति फिडेल क्यास्टोको निधनले पनि संसारमा नै चर्चा पायो । सन् १९५९मा गुरिल्ला युद्धमार्फत सत्तामा आएका यी नेताले बनाएको क्रान्तिकारी छवीको विश्वका मिडियाले चर्चा गरे । उनले आफ्नो कार्यकालभरि अमेरिकी नाकाबन्दी तथा अमेरिकाको विरोधको सामना गर्नु परे पनि शिक्षा श्वास्थ्य जस्ता क्षेत्रमा क्युवालाई ठूलो सफलता दिलाएका थिए ।
१०. फिलिपिन्सद्धारा अमेरीकासगँको सम्बन्ध तोडेर चीनसगँ जोडिनु पनि चर्चित छ । साउथ चाइना सि को चीन र फिलिपिन्सको विवाद ले पनि संसारको ध्यान तान्यो । यस विवादका कारण चीनको वान बेल्ट वान रोडको योजनामा पनि असर पर्ने त होइन भन्ने पनि लाग्यो । फिलिपिन्सले साउथ चाइना सिमा आफ्नो हिस्सेदारीको कुराले गर्दा यी दुई देशबीच तनाव बढ्यो । फिलिपिन्सका राष्ट्रपति डुटेरेको चीन भ्रमण पछि भएको सम्झौताका कारण अमेरीका र फिलिपिन्सको सैन्य अभ्यास रोकियो ।
११. भारत र पाकिस्तान तनाव यो वर्ष दक्षिण एशिया सहित विश्वमा चर्चाको हिशाबले अग्र स्थानमा रह्यो । सेप्टेम्बर १८ को उरी हमलामा १८ भारतीय सेनाको मृत्यु पछि दुवै देशबीच तनाव बढ्न् सार्क शिखर सम्मेलन रोकिनु जस्ता परिघटनाहरु छन् ।
१२. रुसले अमेरीकी चुनावमा हस्तक्षेपको चर्चा पनि यो वर्षको उल्लेख्य खबर रह्यो । नोभमेम्बर ८ मा अमेरीकामा भएको राष्ट्रपतिय निर्वाचनमा रुसले साईबर ह्याक गरी डोनाल्ड ट्रम्पलाई जिताएको भन्दै डेमोक्रयाटीक पार्टीले रुसको विरोध गर्नुलाई पनि संसारका मिडियाले चर्चामा ल्याए । अमेरीका जस्तो शक्तिशाली मुलुकको आन्तरीक चुनावमा रुसले कसरी हस्तक्षेप गर्न सक्यो होला त भन्ने जिज्ञासा संसारमै पैदा भयो ।