एजेन्सी पुस ३ ।
पाकिस्तानमा भारतीय चलचित्रको प्रदर्शनमा लगाइएको प्रतिबन्ध हटाइने भएको छ । भोली देखि पाकिस्तानी चलचित्र भवनमा भारतीय चलचित्रको प्रदर्शन सुरु हुने बताइएको छ ।
जम्मु–काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबिच उत्पन्न तनावपछि गत सेप्टेम्बरदेखि बलिवुड चलचित्रको प्रदर्शनमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको थियो ।
बलिवुड चलचित्रका निर्माताले पाकिस्तानी कलाकार माथि प्रतिबन्ध लगाउने निर्णय गरे लगतै पाकिस्तानका चलचित्र वितरकले प्रदर्शनमा रोक लगाएका थिए ।
भारतीय चलचित्रको प्रदर्शनमा लागेको प्रतिबन्ध हटाउन आफूहरु सहमत भएको पाकिस्तानका चलचित्र वितरक तथा चलचित्र भवनका सञ्चालकले बताएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि सन् १९६५ को इन्डो पाकिस्तान युद्धको क्रममा पनि पाकिस्तानी चलचित्र वितरकले बलिवुड चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । त्यो प्रतिबन्ध सन् २००८ मा आएर अन्त्य भएको थियो ।