एजेन्सी २५ मंसिर ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले हालै सम्पन्न राष्ट्रपतिय निर्वाचन पूर्व रुसका तर्फबाट भएको भनिएको साइबर आक्रमणका विषयमा छानबिन गर्न निर्देशन दिनुभएको छ ।
ओबामाले राष्ट्रपति निर्वाचनमा प्रभाव पार्ने गरी भएको भनिएको साइबर आक्रमणका विषयमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
ह्याकरले डेमोक्र्या्टिक पार्टीको इमेल तथा उम्मेदवार हिलारी क्लिन्टनका महत्वपूर्ण सहयोगीको इमेललाई निशाना बनाएका थिए । गत अक्टोबरमा अमेरिकी सरकारी अधिकारीले रुसले चुनावमा प्रभाव पार्न खोजेको आरोप लगाएका थिए ।
राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन डोनाल्ड ट्रम्पले भने रुसमाथि लागेको आरोपको खण्डन गर्दै राजनीतिक कारणले रुसमाथि आरोप लगाइएको दाबी गर्नुभएको छ ।
रुसका अधिकारीले पनि साइबर आक्रमणको आरोप अस्वीकार गर्दै आएका छन् ।