बेइजिङ,१८ मंसिर ।
मृत्युदण्डको दुई दशकपछिनी सुविन नाम गरेका एक चिनियाँ युवकलाई त्यहाँको सर्वोच्च अदालतले पूर्व फैसला उल्टयाउँदै निर्दोष सावित गरेको छ ।
हेवेई प्रान्तको सिजियाझुयाङमा एक महिलामाथि बलात्कार र हत्या आरोपमा दोषी प्रमाणित भएपछि नीलाई सन् १९९५ मा मृत्युदण्ड दिइएको थियो । अदालत कक्षको निकै भावुक माहोलका बीच न्यायाधीशले नीका सम्बन्धमा गरिएको पूर्वफैसलामा आवश्यक प्रमाण संकलन नगरिएको बताए ।
न्यायाधीशले नी संलग्न भएको भनिएको घटनामा मृत्युको समय, हत्यामा प्रयोग भएको हतियार र मृत्युको कारणबारे गम्भीर आशंकाहरू रहेको उल्लेख गरे । ‘यो घटनामा सर्वोच्च अदालतले नी सुविनका सम्बन्धमा गरिएको फैसलालाई परिवर्तन गरेको छ र उनी निर्दोष भएको फैसला गरेको छ,’ चिनियाँ सरकारी समाचार समिति सिन्हाले भनेको छ ।
दुई दशकदेखि आफ्ना छोराको न्यायका लागि लड्दै आएकी नीकी आमा झाङ फैसला सुनेपछि अदालतमै रोएकी थिइन् । उनले भनिन्, ‘म मेरो छोरालाई भन्न चाहन्छु, तिमी असल हौ, निर्दोष हौ ।’ झाङले चाँडै छोराको चिहानमा जाने बताइन् । उनले भनिन्, ‘म अब उसलाई गएर भन्नेछु, तिम्रो आमाको प्रयास त्यत्तिकै खेर गएन, तिमीले न्याय पाएका छौं ।’
नीलाई मृत्युदण्डको सजाय दिएको १० वर्षपछि सन् २००५ मा सोही अपराधमा अर्का व्यक्ति वाङ सुजिनलाई दोषी ठहर्याइएको थियो । सर्वोच्चले गत जुनमा नीकी आमालाई मुद्दा पुनरावलोकन गर्ने स्वीकृति दिएको थियो ।