काबुल, ७ माघ ।
अफगानिस्तानमा सुरक्षाबलले गरेको कारबाहीको क्रममा गएको २४ घण्टाभित्र त्यहाँका १४ जना तालिवान सशस्त्र विद्रोहीको मृत्यु भएको समाचार छ ।
सो कारबाहीको क्रममा कैयाँै तालिबान घाइते हुनुको साथै केही पक्राउ परेको जनाइएको छ । अफगानिस्तानको गृह मन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ ।
देशका विभिन्न ठाउँमा भएका आतङ्ककारीविरुद्धका कारबाहीहरूमा ती तालिवानहरूले ज्यान गुमाएका गृह मन्त्रालयले जानकारी दिएको छ ।
अफगान सैनिक र प्रहरीको समेत सहयोगमा कुनार, गजनी, जाबुल, बादख्सान, कुन्दुज, फराब, हेलमान्ड र फराह प्रान्तमा गत २४ भित्र जारी कारबाहीमा ती आतङ्ककारीको मृत्यु भएको हो ।
पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरूलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।
उनीहरूले सोमबारमात्र पनि काबुलको एक विमानस्थलमा लक्षितगरी आत्मघाती बम विस्फोट गराएका थिए । उनीहरूले राजधानी काबुलमा नै लक्ष्यगरी पछिल्लो समयमा आक्रमणलाई तीब्र बनाएका छन् ।