एजेन्सी,४ माघ ।
अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । गत अक्टोबरमा इरानले संयुक्त राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै परमाणु क्षमताको व्यालेस्टिक मिसाइल परीक्षण गरेका कारण नयाँ प्रतिबन्ध लगाइएको हो ।
अब मिसाइल कार्यक्रमसँग सम्बन्धित ११ संस्था तथा व्यक्तिले अमेरिकी बैंकिङ प्रणालीको प्रयोग गर्न नपाउने वीवीसीले जनाएको छ ।
अस्ट्रियाको भियनामा भएको अमेरिका, इरान तथा युरोपियन युनियनका विदेश मन्त्रीको बैठकमा परमाणु कार्यक्रमको निरीक्षण गर्ने अन्तर्रा्ष्ट्रिय संस्था आइएइएले इरानको पछिल्लो परमाणु कार्यक्रम सम्बन्धी प्रतिवेदन पेश गरेको थियो । त्यपछि हिजो इरानमाथि सन् २०१२ देखि लाग्दै आएको सबै किसिमको अन्तर्रा्ष्ट्रिय आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरिएको थियो ।
त्यही प्रतिवेदनका आधारमा इरानल वासिङटन पोस्टका पत्रकार जेसन रजाइयानसहित चार इरानी मुलका अमेरिकीलाई रिहा गरेको थियो भने अमेरिकाले पनि सात जना इरानी नागरिकलाई छोड्ने तयारी गरेको जनाएको छ ।
परमाणु कार्यक्रम कम गर्ने सम्बन्धी गत जुलाईमा भएको सम्झौताको प्रतिबद्धता अनुसार काम गरेको भन्दै अमेरिकासहित अरु देशले प्रतिबन्ध हटाएको एक दिनपछि नै अमेरिकी वित्त मन्त्रालयले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।