काठमाडौं,३ माघ ।
इरानमाथि लाग्दै आएको अन्तर्रा्ष्ट्रिय आर्थिक प्रतिबन्ध हटेको छ । गत वर्षको जुलाईमा भएको सम्झौताअनुसार इरानले आफ्नो परमाणु कार्यक्रम कम गरेको पुष्टि भएपछि उसमाथि लाग्दै आएको सबै प्रकारको अन्तर्रा्ष्ट्रिय प्रतिबन्ध हटाउने निर्णय भएको वीवीसीले जनाएको छ ।
अस्ट्रियाको भियनामा अमेरिकी विदेशमन्त्री जोन केरीसहित र इरान तथा युरोपियन युनियनका विदेशमन्त्रीसँगको बैठकमा परमाणु कार्यक्रमको निरीक्षण गर्ने अन्तर्रा्ष्ट्रिय संस्था आइएइएले इरानको परमाणु कार्यक्रमका बारेमा पछिल्लो प्रतिवेदन पेश गरेको थियो ।
प्रतिवेदनमा सम्झौताअनुसार इरानले आफ्नो प्रतिबद्धता पूरा गरेको उल्लेख भएपछि विश्वका शक्ति राष्ट्रले इरानमाथि लाग्दै आएको आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेका हुन् ।
अमेरिकाले पनि इरानमाथिका लगाएका सबै प्रतिबन्ध हटाएको घोषणा गरेको छ । युरोपियन युनियन इयुका विदेश नीति प्रमुख फेडरिके मागरिनीले पनि प्रतिबन्ध हटाएको र अब यस क्षेत्रमा शान्ति तथा स्थिरता बढ्ने बताएका छन् ।