नाइपित्व, २८ पुस ।
म्यानमारमा सरकार र द्वन्द्वरत बिभिन्न समूहबीच शान्ति सम्मेलन सुरु भएको समाचार छ । म्यानमारमा विगत लामो समयदेखि जारी रहेको द्वन्द्व समाधानका लागि सरकार र ती दल एवम् समूहबीच शान्ति वार्ता सुरु भएको छ ।
सरकारले त्यहाँ द्धन्द्व जारी राखेका विभिन्न आठवटा सशस्त्र विद्रोहीसँग केही महिनाअघि देखि वार्ता थालेको हो । मङ्गलबार म्यानमारको राजधानी नाइपित्वमा ती विद्रोही समूह र सरकारका प्रतिनिधिबीच शान्ति सम्मेलन सुरु भएको हो । आगामी शनिबारसम्म सञ्चालन हुने पाँच दिने सो सम्मेलनको उद्घाटन मङगलबार बिहान म्यानमारका राष्ट्रपति उ थाँ सेनले गर्नुभयो ।
उहाँले सो सम्मेलनको उद्घाटन गर्दै म्यानमारमा गएको करिब छ दशकपछि भएको पहिलो सबैभन्दा ठूलो राजनीतिक सम्मेलन हो भन्नुभयो ।
उहाँले भन्नुभयो– सन् १९४८ मा म्यानमार स्वतन्त्र भएपछि पहिलो पटक यतिठूलो सङ्ख्या र बलमा राजनीतिक सम्मेलन सुरु भएको छ । राष्ट्रपति सेनले आफू म्यानमारको राष्ट्रपति भएदेखि नै ती सशस्त्र विद्रोहीहरुलाई शान्ति प्रक्रियामा ल्याउने कैयौं प्रयास गर्नुभएको थियो ।
त्यसै प्रयास अनुसार उहाँको कार्यकालको उत्तराद्र्धमा यो शान्ति प्रक्रियाको थालनी गरिएको पनि उहाँले जानकारी दिनुभयो । सो सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति सेनले म्यानमारमा शान्ति स्थापनाको भरपर्दो स्थिति आएको भन्दै यो अवसर अब चुकाउन नहुने धारणा पनि राख्नुभयो ।
उहाँले यो शान्ति प्रक्रिया भनेको आगामी नोभेम्बरमा गर्न लागिएको वर्तमान सरकारको शक्ति हस्तान्तरण पनि एक हो भन्नुभयो । सरकार र विद्रोही पक्षबीच हुन लागेको यस सम्मेलन शान्ति प्रक्रियाका विषयमा केन्द्रित हुने छ ।