एजेन्सी कार्तिक २८ । फ्रान्सको राजधानी पेरिसमा भएको श्रृखलाबद्ध बम विष्फोट र गोलाबारीमा परी १४० भन्दा बढीको मृत्यु भएको छ ।
आक्रमणकारीहरुले बैटाकला कन्सर्ट हलमा बन्धक बनाएका नागरिकलाई पनि मारि दिएका छन् ।
यो आक्रमण लगत्तै फ्रान्समा राष्ट्रिय संकटको घोषणा गरिएको छ र सिमा नाकाहरु बन्द गरिएका छन् ।
यस आक्रमणको हाल सम्म कुनै पनि समुहले जिम्मा लिएको छैन ।
फ्रान्सका राष्ट्रपति फ्रान्सवा ओलान्दले देशवासीलाई सवोधन गर्दै संकटकालको घोषणा गर्नु भएको छ ।
सबै फ्रान्सेली नागरिकलाई घर भित्रै रहन अनुरोध गरिएको छ ।
पेरिसको स्थानीय समय अनुसार रातको ९ बजे यो आक्रमण भएको थियो । सबै भन्दा घातक हमला बैटाकला आर्टस सेन्टरमा भएको थियो , जहा १५ जना मारिएका छन् भने सय जना जति बन्धक बनेका छन् ।
त्यस पछि त्यसकै नजिक रहेको पेटाईज कोम्बोज नामक रेष्टुरेन्टमा आक्रमण भएको थियो , त्यसमा १० जना जति ग्राहक रहेको अनुमान गरिएको छ ।
तेस्रो हमला पेरिसको राष्ट्रिय रंगशालासगै जोडिएको एक बारमा भएको थियो , जसमा तीन जना मारिएका छन् । तीन वटा बम त्याहा विष्फोट भएको थियो ।
त्यस बेला रंगशालामा फ्रान्स र जर्मनीको बीचमा फुटबल खेल चलिरहेको थियो । राष्ट्रपति ओलान्द त्यस बेला फुटबल हेरिरहेका थिए । उनलाई सुरक्षित रुपमा निकालिएको थियो ।
यसैबीच यस आक्रमण पछि आईएस समर्थकहरुले आक्रमणको प्रसंसा गर्दै ट्वीटरहरुमा टिप्पणीहरु लेखेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सुरक्षा फौजले आक्रमणकारी पत्ता लगाउन र बन्धक छुटाउन कार्बाही जारी राखेको छ ।
यसैबीच अमेरीका बेलायत लगायत विभिन्नि मुलुकले फ्रान्समा भएको आक्रमणको निन्दा गर्दै फ्रान्सको पक्षमा रहेको बताएका छन् ।
अमेरीकी राष्ट्रपति बराक ओबमाले यो आक्रमण मानवता विरुद्ध भएको भन्दै फ्रान्सको साथमा आफू रहने बताउनु भयो ।
बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले यो आक्रमणको निन्दा गर्दै फ्रान्सेली जनताको पक्षमा आफूहरु रहेको बताउनु भयो ।
त्यस्तै अन्य विभिन्न मुलुकका राष्ट्रप्रमुखहरुले पनि घटनाको निन्दा गरेका छन् ।

