रूपन्देही, ११ मङ्सिरः गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्ने लामो समयदेखिको प्रतीक्षाबीच नेपाल र भारतबीच भैरहवा हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएपछि रुपन्देहीसहित समग्र लुम्बिनी प्रदेशका पर्यटन तथा उद्योग व्यवसायीमा नयाँ आशा जागेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिलाई गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको पूर्ण उपयोग, लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धन र सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि विस्तारका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय सहमतिअनुसार हाल एकतर्फी सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाइने भएको हो । यसका लागि दुवै देशका प्राविधिक अधिकारीबीच थप परामर्श गरी आवश्यक सञ्चालन प्रक्रिया र तौरतरिका टुङ्ग्याइने संयुक्त वक्तव्यमा उल्लेख छ । यसले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडानको प्रवेश तथा बहिर्गमनलाई सहज बनाउने अपेक्षा गरिएको छ । करिब एक दशकभन्दा लामो समयदेखि अन्तरराष्ट्रिय हवाई प्रवेशमार्गको विषय उठाउँदै आएको नेपालका लागि यो सहमतिलाई हवाई सम्पर्क विस्तारको महत्वपूर्ण प्रगतिका रूपमा लिइएको छ ।
विशेषगरी गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएपछि पनि अपेक्षित सङ्ख्यामा अन्तरराष्ट्रिय उडान हुन नसक्दा लगानी, पूर्वाधार र व्यावसायिक सम्भावनाको पूर्ण उपयोग हुन सकेको थिएन । नयाँ सहमतिले विमानस्थललाई नियमित अन्तरराष्ट्रिय उडानको केन्द्रका रूपमा विकास गर्ने सम्भावना बढाएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको हवाई मार्गसम्बन्धी सहमतिलाई नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिनुभएको छ । उहाँले पर्यटन विकासको प्रमुख आधार हवाई सम्पर्क भएकाले भारतबाट भैरहवामा सहज हवाई आवागमन हुनसक्ने वातावरण निर्माण हुनु सकारात्मक रहेको बताउनुभयो ।
उहाँका अनुसार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी तथा सर्वसाधारणले अन्तरराष्ट्रिय उडान विस्तार हुने अपेक्षा गरेका थिए । तर पर्याप्त हवाई सम्पर्कको अभावमा विमानस्थलले अपेक्षित गति लिन सकेको थिएन । अब हवाई मार्ग दुईतर्फी बनाउने सहमतिले विमानस्थलको उपयोग बढाउन, विदेशी पर्यटक आकर्षित गर्न र निजी क्षेत्रको लगानीलाई प्रतिफलमुखी बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।
नेपाल ट्राभल एसोसिएसन नाटाका पूर्वअध्यक्ष सागर अधिकारीले भैरहवाबाट भारतका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यसँग हवाई सम्पर्क विस्तार गर्नसके नेपालको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने बताउनुभयो । उहाँले नेपालको पर्यटन विकासका लागि विमानस्थल निर्माणसँगै सहज हवाई आवागमन र अन्तरराष्ट्रिय सम्पर्क आवश्यक रहेको उल्लेख गर्दै भैरहवाबाट भारतका गन्तव्यमा उडान सञ्चालन गर्ने प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार लुम्बिनी आउने पर्यटकको सङ्ख्या बढाउन भारतका प्रमुख धार्मिक तथा पर्यटकीय सहरसँग यातायात सम्पर्क सहज हुनुपर्छ । विशेषगरी बुद्ध सर्किटअन्तर्गतका भारतीय गन्तव्य र नेपालको लुम्बिनी क्षेत्रलाई एउटै पर्यटन प्याकेजमा जोड्नसके पर्यटकको बसाइ अवधि बढ्नुका साथै होटल, ट्राभल, यातायात, रेस्टुरेन्ट र अन्य पर्यटन व्यवसायमा आर्थिक गतिविधि विस्तार हुनेछ ।
भारतको उत्तर प्रदेशस्थित लखनउ, वाराणसी, सारनाथ, कुशीनगर, श्रावस्ती तथा विहारका बोधगया, नालन्दा र वैशालीजस्ता बौद्ध तथा धार्मिक गन्तव्यसँग नेपालको लुम्बिनी क्षेत्रलाई जोड्न सकिने पर्यटन व्यवसायीको भनाइ छ । अयोध्या र वाराणसीजस्ता धार्मिक सहरबाट आउने पर्यटकलाई लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामसम्म पुग्ने सहज यात्रा प्याकेज विकास गर्नसके नेपाल र भारत दुवै देशले पर्यटनबाट लाभ लिनसक्ने सम्भावना छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत सुरज घिमिरेले गौतमबुद्धको जन्मस्थल लुम्बिनी केबल बौद्ध धर्मावलम्बीको तीर्थस्थल मात्र नभई शान्ति, अहिंसा, सकारात्मक सोच, ध्यान र मानव कल्याणको सन्देश विश्वभर फैलाउने महत्वपूर्ण केन्द्र भएको बताउनुभयो । उहाँले बुद्धको जीवन र दर्शनसँग जोडिएका स्थलको भ्रमण गर्न विश्वका विभिन्न मुलुकबाट लाखौँ मानिस इच्छुक रहेको उल्लेख गर्दै भारतबाट सहज हवाई सम्पर्क स्थापित हुनसके लुम्बिनी आउने पर्यटकका लागि यात्रा थप सहज हुने बताउनुभयो ।
उहाँका अनुसार बुद्धको जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्तिस्थल भारतको बोधगया, पहिलो धर्मदेशना गरेको सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगरलाई जोड्ने बौद्ध पर्यटन मार्ग विश्वकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्यटन सञ्जाल हो । यसमा नेपालको लुम्बिनीलाई केन्द्र बनाएर कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामसमेत जोड्नसके बौद्ध दर्शन, इतिहास र सभ्यतामा रुचि राख्ने पर्यटकका लागि लामो अवधिको भ्रमण प्याकेज विकास गर्न सकिने उहाँको भनाइ छ ।
नेपालको बुद्ध सर्किटअन्तर्गत लुम्बिनी, प्राचीन कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्राम महत्वपूर्ण गन्तव्य हुन् । लुम्बिनीमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी पोखरी, अन्तरराष्ट्रिय विहार क्षेत्र तथा विभिन्न मुलुकका बौद्ध संस्कृतिको प्रतिनिधित्व गर्ने गुम्बा र विहार रहेका छन् ।
कपिलवस्तुको तिलौराकोटलाई सिद्धार्थ गौतमले राजकुमारका रूपमा जीवन बिताएको प्राचीन शाक्य राजधानीका रूपमा चिनिन्छ । देवदह कोलीय राज्य र मायादेवीको माइती क्षेत्रसँग सम्बन्धित छ भने रामग्राममा बुद्धको अस्तुधातु सुरक्षित रहेको ऐतिहासिक स्तूप छ । यी सम्पदाको संरक्षण र प्रचारप्रसारसँगै अन्तरराष्ट्रिय यातायात सम्पर्क विस्तार गर्नसके लुम्बिनी क्षेत्रलाई विश्वव्यापी बौद्ध पर्यटनको प्रमुख केन्द्र बनाउन सकिने सम्भावना छ । भारत सरकारलेसमेत बौद्ध पर्यटन सर्किटको अवधारणामा लुम्बिनीलाई बोधगया, सारनाथ, कुशीनगर र कपिलवस्तुसँग जोड्ने योजना अघि सारेको छ । यसले नेपाल र भारतबीच संयुक्त पर्यटन प्याकेज विकास गर्न थप आधार प्रदान गर्छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दुईतर्फी हवाइमार्ग सञ्चालनले पर्यटनमा मात्र नभई उद्योग, व्यापार, होटल, कृषि, निर्माण, यातायात र सेवा क्षेत्रसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ । विदेशी पर्यटकको आवागमन बढेमा होटल तथा रिसोर्टमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय उत्पादन, हस्तकला, खाद्य सामग्री र अन्य सेवाको माग बढ्नेछ । विमानस्थललाई आधार बनाएर अन्तरराष्ट्रिय सम्मेलन, बौद्ध अध्ययन, ध्यान तथा योग शिविर र धार्मिक पर्यटनका कार्यक्रम आयोजना गर्न पनि सहज हुनेछ ।
विशेषगरी श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम, चीन, जापान, दक्षिण कोरिया तथा अन्य बौद्ध धर्मावलम्बीको बाहुल्य भएका मुलुकबाट आउने पर्यटकलाई भारतका प्रमुख हवाई तथा धार्मिक गन्तव्य हुँदै लुम्बिनीसम्म ल्याउन सकिने सम्भावना छ । यसका लागि अन्तरराष्ट्रिय वायुसेवा कम्पनी, पर्यटन व्यवसायी र दुवै देशका सम्बन्धित निकायबीच समन्वय आवश्यक हुनेछ ।
भैरहवा–सुनौली नाकाबाट भारतसँग जोडिएको रुपन्देही व्यापार, उद्योग र पर्यटनको महत्वपूर्ण केन्द्रसमेत हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नसके यस क्षेत्रको आर्थिक गतिविधि सीमा क्षेत्रभन्दा बाहिर अन्तरराष्ट्रिय बजारसम्म विस्तार हुनसक्छ । विमानस्थलसँगै विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, होटल तथा पर्यटन पूर्वाधारमा भएको लगानीलेसमेत नयाँ व्यावसायिक अवसर पाउने अपेक्षा गरिएको छ ।
यद्यपि दुईतर्फी हवाई मार्गसम्बन्धी सहमतिलाई व्यवहारमा उतार्न प्राविधिक प्रक्रिया शीघ्र टुङ्ग्याउनु, अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्नु, उडानको नियमितता सुनिश्चित गर्नु र पर्यटकीय पूर्वाधार सुधार गर्नु आवश्यक छ । भारतका धार्मिक तथा बौद्ध पर्यटन गन्तव्यसँग संयुक्त प्रचारप्रसार, सहज भिसा तथा आवागमन प्रक्रिया र आकर्षक पर्यटन प्याकेज निर्माण पनि उत्तिकै महत्वपूर्ण हुनेछन् ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको सहमतिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भविष्यप्रति नयाँ अपेक्षा सिर्जना गरेको छ । अब यसको प्रभावकारी कार्यान्वयन हुनसके बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तरराष्ट्रिय पर्यटकको आवागमन बढ्नुका साथै रुपन्देही र समग्र लुम्बिनी प्रदेशको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रले नयाँ गति लिने विश्वास गरिएको छ । यसले लुम्बिनीलाई विश्व शान्तिको सन्देश फैलाउने आध्यात्मिक गन्तव्यका रूपमा मात्र नभई नेपालको आर्थिक समृद्धिमा योगदान पुर्याउने अन्तरराष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने अवसर प्रदान गर्न सक्छ ।