एजेन्सी: केन्यामा झन्डै २०० बालबालिकालाई भोकै राखेर हत्या गरेको अभियोगमा २०० वर्षको जेल सजाय भोगिरहेका धर्मगुरु पल म्याकेन्जीलाई नयाँ मुद्दामा पनि दोषी ठहर गरिएको छ। मोम्बासास्थित टोनोंका बाल अदालतकी न्यायाधीश नेली चेप्चिरचिरले बालबालिकामाथि क्रूर व्यवहार गरेका पाँच अभियोग र शारीरिक कुटपिटबाट चोट पुर्याएको एक अभियोगमा उनलाई दोषी ठहर गरिन्। म्याकेन्जीले शाकाहोला समुदायका अभिभावकलाई सन्तानलाई मृत्युसम्म खाना नदिन सिकाएको र पहिले बालबालिका, त्यसपछि महिला र अन्त्यमा पुरुष मर्नुपर्ने शिक्षा दिएको अदालतले ठहर गरेको छ। अन्य केही अभियोगमा भने उनले सफाइ पाएका छन्, नयाँ मुद्दामा सजाय पछि सुनाइनेछ। उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन्।
यसअघि यसै महिनाको सुरुमा उच्च अदालतले भोकै राखेर हत्या गरेको अभियोगमा १०० वर्ष र प्रत्यक्ष हत्याको अभियोगमा थप १०० वर्ष सजाय सुनाएको थियो। उनीमाथि आतंकवाद, धार्मिक कट्टरपन्थीकरण र सामूहिक हत्यासम्बन्धी अन्य मुद्दा पनि विचाराधीन छन्। सन् २०२३ को अप्रिलमा मालिन्दी नजिकैको शाकाहोला जंगलमा प्रहरीले शव फेला पार्न थालेपछि सार्वजनिक भएको यो घटनामा करिब ५०० अनुयायी पीडित भएको आशंका गरिएको छ। घटनापछि धार्मिक समूहमाथि निगरानी बढाउने माग चर्किए पनि नियमनसम्बन्धी प्रस्ताव अझै कानुन बनेका छैनन्।