थाइल्यान्डको बैंककस्थित तेल प्रशोधन केन्द्रमा भीषण विस्फोट, नौ जना घाइते

थाइल्यान्डको बैंककस्थित तेल प्रशोधन केन्द्रमा भीषण विस्फोट, नौ जना घाइते

  • बिहिबार, मंसिर १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 38
    SHARES

थाइल्यान्डको राजधानी बैंककस्थित एक तेल प्रशोधन केन्द्रमा बिहीबार भएको शक्तिशाली विस्फोटमा परी नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् ।
विस्फोटको प्रभाव घटनास्थलबाट कैयौँ किलोमिटर टाढासम्म महसुस गरिएको थियो । एएफपीका पत्रकारहरूका अनुसार विस्फोटलगत्तै प्रशोधन केन्द्रबाट आगोको ठूलो मुस्लो निस्किएको थियो भने आकाशमा बाक्लो कालो धुवाँ फैलिएको थियो ।
घटनास्थलको निरीक्षण गर्न पुग्नुभएका थाइल्यान्डका ऊर्जामन्त्री अकानात प्रोम्फानले पूर्वी बैंककको फ्रा खानोङ क्षेत्रमा रहेको उक्त प्रशोधन केन्द्र आसपास आवासीय क्षेत्रसमेत रहेकाले घटनालाई गम्भीर रूपमा लिइएको बताउनुभएको छ ।

उहाँका अनुसार प्रारम्भिक जानकारीमा तेल भण्डारण केन्द्रभन्दा कम्तीमा १०० मिटर टाढा रहेको डिस्टिलेसन टावरबाट आगलागी सुरु भएको देखिएको छ । यसले तेल भण्डारण क्षेत्रमा हुन सक्ने क्षति सीमित गर्न सहयोग पुगेको उहाँको भनाइ छ ।
उक्त प्रशोधन केन्द्र सञ्चालन गर्दै आएको ऊर्जा कम्पनी बाङ्चाक कर्पोरेसनले विस्फोटपछि लागेको आगो ३० मिनेटभित्र नियन्त्रणमा लिइएको जनाएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
कम्पनीका अनुसार प्रशोधन केन्द्र आसपास गरिएको वायु गुणस्तर परीक्षणमा कुनै असामान्य अवस्था देखिएको छैन ।
ऊर्जामन्त्री प्रोम्फानले घटनास्थलको एक किलोमिटर आसपास कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइडलगायत प्रदूषक तत्त्वको परीक्षण गरिएको र त्यस क्रममा कुनै असामान्य अवस्था फेला नपरेको जानकारी दिनुभएको छ ।

यद्यपि, प्रशोधन केन्द्रको सञ्चालन पुनः सुरु गर्दा कुनै जोखिम नरहनेमा ऊर्जा मन्त्रालय विश्वस्त नभएसम्म उत्पादन कार्य स्थगित गरिने उहाँले बताउनुभएको छ ।
विस्फोटपछि सुरक्षालाई ध्यानमा राख्दै नजिकैका विद्यालयका विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । प्रहरीले स्थानीय बासिन्दालाई समेत प्रभावित क्षेत्र छाड्न आग्रह गरेको जनाएको छ ।
बैंकक महानगरपालिकाअन्तर्गतको इरावान आपत्कालीन चिकित्सा केन्द्रले घटनामा नौ जना घाइते हुनुभएको पुष्टि गरेको छ । उहाँहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको केन्द्रले जनाएको छ ।
विस्फोटपछि बैंककको आकाशमा कालो धुवाँ फैलिएको थियो। महानगर प्रशासनले मोबाइल फोनमार्फत सर्वसाधारणलाई सतर्क रहन र घटनास्थल आसपासको क्षेत्रमा नजान आग्रह गर्दै सूचना जारी गरेको थियो ।

बाङ्चाक कर्पोरेसनका अनुसार उक्त प्रशोधन केन्द्र प्रतिदिन अधिकतम एक लाख २० हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमताको आधुनिक औद्योगिक केन्द्र हो ।
यसअघि सन् २०१२ को जुलाईमा पनि सोही प्रशोधन केन्द्रमा विस्फोट भई ठूलो आगलागी भएको थियो। उक्त घटनामा भने मानवीय क्षति भएको थिएन । त्यस घटनापछि आवासीय क्षेत्र नजिकै यति ठूलो औद्योगिक केन्द्र सञ्चालनमा रहेको विषयमा विभिन्न प्रश्न उठेका थिए ।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले घटनाबारे आफूले निरन्तर जानकारी लिइरहेको बताउनुभएको छ । घटनाको कारण र जिम्मेवारीबारे अनुसन्धान पूरा नभएसम्म कसैलाई दोष दिन हतार गर्न नहुने उहाँको भनाइ छ ।
घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ