काठमाडौं, १० मंसिर – नेपालका उद्योगले आफ्नो उत्पादन क्षमताको आधा मात्र उपयोग गरिरहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार उद्योगहरूको औसत क्षमता उपयोग ४८.१३ प्रतिशत मात्र छ, जुन २०८१/८२ को ५१.४३ प्रतिशतभन्दा कम हो। भटमास तेल उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९२.४१ प्रतिशत र वनस्पति घिउ उद्योगको सबैभन्दा कम २.३६ प्रतिशत छ। सिमेन्ट, चिनी, बिस्कुट, चाउचाउ, गार्मेन्टलगायतका उद्योगमा क्षमता उपयोग बढेको भए पनि चामल, प्रशोधित दूध, औषधि, प्लाइउड, कागज, फलामे छड, टायर, छालाको जुत्ता–चप्पललगायतका उद्योगमा घटेको छ। प्रदेशतर्फ कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा औसत क्षमता उपयोग बढेको छ भने बागमती र कर्णालीमा घटेको छ।
राष्ट्र बैंकले प्रक्रियागत जटिलता, राजनीतिक अस्थिरता, कमजोर औद्योगिक पूर्वाधार, दक्ष जनशक्ति अभाव र न्यून उत्पादकत्वलाई मुख्य समस्या भनेको छ। यसबाहेक युवा विदेश पलायनले श्रमिक अभाव, सडक पूर्वाधार समयमै नबन्दा ढुवानी र बजारीकरणमा समस्या, गैरभन्सारजन्य अवरोध र सरकारले पूँजीगत खर्च गर्न नसकेको कारण पनि औँल्याइएको छ। तर प्राकृतिक स्रोत, बढ्दो बैंकिङ पहुँच, घट्दो ब्याजदर र पुनर्निर्माणका कारण बढ्ने मागले उद्योग क्षेत्रमा राम्रो सम्भावना रहेको केन्द्रीय बैंकको ठहर छ। सिमेन्ट, स्टिल, चिया, जस्तापाता, पेन्ट र विद्युतीय केबुल आत्मनिर्भरतातर्फ उन्मुख भएकाले आयात घट्दै निर्यात प्रवर्द्धन हुन सक्ने सम्भावना छ।