आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

  • बिहिबार, मंसिर १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

ललितपुर, १० मङ्सिरः आदिवासी जनजाति समुदायको पुख्र्यौली थातथलोमा विकास आयोजना वा गतिविधि सञ्चालन गर्नुअघि सम्बन्धित समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति अनिवार्य गर्ने राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ ।

आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासङ्घले आज संयुक्त रूपमा ‘आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति कार्यान्वयन राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गरेका हुन् ।

आयोगका अध्यक्ष रामबहादुर थापा मगरले निर्देशिकाअनुसार सम्बन्धित समुदायको सहमतिबिना सरकारी, गैरसरकारी तथा बहुराष्ट्रिय कम्पनीले उनीहरूको थातथलोमा आयोजना सञ्चालन गर्न नपाउने बताउनुभयो ।

निर्देशिकामा आयोजना निर्माणअघि प्रभावित समुदायका प्रतिनिधिको सहभागितामा नक्साङ्कन गर्नुपर्ने, सम्भावित लाभ र हानिबारे स्पष्ट जानकारी दिनुपर्ने तथा समुदायले आयोजना अस्वीकार गर्न सक्ने व्यवस्था छ । सहमति दिने वा नदिने अन्तिम अधिकार सम्बन्धित समुदायको प्रथाजन्य संस्थामा रहनेछ ।

सरकार संलग्न आयोजनामा सरकार, लगानीकर्ता र प्रभावित समुदायबीच त्रिपक्षीय करार गर्नुपर्ने तथा सहमति प्राप्त भइसकेपछि पनि प्रतिकूल असर देखिए आयोजना स्थगन गर्न सकिने व्यवस्था निर्देशिकामा समेटिएको छ । सहमति प्रक्रियाको सम्पूर्ण खर्च सम्बन्धित आयोजनाले व्यहोर्नुपर्नेछ ।

निर्देशिका कार्यान्वयनका लागि राष्ट्रिय सहजीकरण संयन्त्र गठन गर्ने प्रस्ताव गरिएको छ । कार्यान्वयनका क्रममा उत्पन्न विवाद तथा गुनासो आदिवासी जनजाति आयोगले सुन्ने व्यवस्था पनि गरिएको छ ।

आयोगका अध्यक्ष मगरले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि नं. १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रमा उल्लेखित अधिकार कार्यान्वयनका लागि निर्देशिका आवश्यक भएको बताउनुभयो । उहाँले यसलाई सरकारी दस्तावेजका रूपमा कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण तथा संशोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा ह्योल्मो लामाले महासङ्घले २०७० सालमा तयार गरेको निर्देशिकालाई परिमार्जन र एकीकृत गरी सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले निर्देशिका कार्यान्वयनका लागि राज्य, विकास साझेदार र दातृ निकायको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ