काठमाडौँ। नेपालका प्रशोधित खाद्य तेल उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ (क्रुड सनफ्लावर आयल र क्रुड सोयाबिन आयल) भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट समेत आयात गर्न पाउने व्यवस्था भएपछी उद्योगीहरु खुसि भएका छन् । प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणका क्रममा लामो समयदेखि उठ्दै आएको यो माग सम्बोधन भएपछि नेपाल वनस्पति घ्यू तथा तेल उद्योग संघले यस कदमको स्वागत गरेको छ।
यसअघि नेपाली उद्योगहरू आयातका लागि वजवज (कलकत्ता) र हल्दिया बन्दरगाहमा मात्र निर्भर रहनुपरेको थियो। एउटै वा सीमित बन्दरगाहमा निर्भर रहँदा ढुवानी खर्च, समय र समग्र आयात लागतका दृष्टिले नेपाली उद्योगहरूले विभिन्न कठिनाइ भोग्दै आएका थिए।
काण्डला बन्दरगाहसमेत खुला भएसँगै नेपाली उद्योगहरूका लागि थप वैकल्पिक आयात मार्ग उपलब्ध भएको छ। यसबाट आयात लागत न्यूनीकरण हुनुका साथै आपूर्ति सहज बन्ने र नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास संघले लिएको छ।
नेपाल सरकारका सम्बन्धित निकायहरूमा बन्दरगाह सम्बन्धी समस्या समाधानका लागि संघका अध्यक्ष विकास दुगडलगायतको प्रतिनिधिमण्डलले पटक-पटक माग गर्दै आएको थियो। उच्चस्तरीय वार्ताका क्रममा नेपाली उद्योगको मागलाई प्राथमिकताका साथ उठाई समाधानको मार्ग प्रशस्त गरेको भन्दै संघले प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गरेको छ।
साथै, यस कार्यमा सहयोग पुर्याउने नेपाल सरकारका सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधि तथा सम्पूर्ण पक्षहरूलाई धन्यवाद दिँदै संघले आगामी दिनहरूमा पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य, समन्वय र संवादलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।