तीस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै

तीस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै

  • बिहिबार, मंसिर १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 608
    SHARES

काठमाडौँ, १० मङ्सिरः सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि लामो समयदेखि प्रभावित विद्युत् खरिद सम्झौता (पिपीए) प्रक्रिया पुनः सञ्चालन गर्न सहज हुने छ । नयाँ ढाँचाले आगामी दशकमा कुन प्रकृतिका ऊर्जा आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्नेछ ।

ऊर्जा मन्त्रालयले तयार गरिरहेको ढाँचामा नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को हिस्सा निर्धारण गरिनेछ। यसबाट मुलुकको दीर्घकालीन ऊर्जा आवश्यकता र उत्पादन संरचनाको खाका तयार हुनेछ ।

हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता चार हजार २०० मेगावाट छ । उत्पादनको ठूलो हिस्सा नदी प्रवाही जलविद्युत् आयोजनाबाट प्राप्त भइरहेको छ । यस्ता आयोजनाबाट वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने भएकाले मौसमी असन्तुलन कम गर्न ऊर्जा स्रोतको विविधीकरण आवश्यक देखिएको छ ।

यसअघि १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई आधार बनाएर ऊर्जा मिश्रण निर्धारण गरिएको थियो । सरकारले अहिले ३० हजार मेगावाट उत्पादनको लक्ष्य अघि सारेपछि पुरानो अनुपातले दीर्घकालीन आवश्यकता पूरा गर्न नसक्ने निष्कर्षसहित नयाँ ढाँचा बनाउन लागिएको हो ।

सन् २०१६ मा जारी राष्ट्रिय ऊर्जा सङ्कट निवारण नीति तथा विद्युत् विकास दशक (सन् २०१६–२०२६) ले पहिलोपटक विभिन्न स्रोतबाट विद्युत् उत्पादनको अनुपात निर्धारण गरेको थियो । उक्त नीतिमा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ४० देखि ५० प्रतिशत र अर्धजलाशययुक्त आयोजनाको हिस्सा १५ देखि २० प्रतिशत कायम गर्ने लक्ष्य राखिएको थियो ।

पछि १५ हजार मेगावाट उत्पादन लक्ष्यअनुसार तयार गरिएको ऊर्जा मिश्रणको ढाँचामा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाही आयोजनाको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्त आयोजनाको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको पाँचदेखि १० प्रतिशत निर्धारण गरिएको थियो। सौर्य ऊर्जाका लागि पनि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो।

२०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पु¥याएपछि विद्युत् खरिद सम्झौता प्रक्रिया पनि सोहीअनुसार अघि बढाइएको थियो । त्यसपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले एक हजार ५०० मेगावाटसम्मका नदी प्रवाही आयोजनाको विद्युत् खरिद सम्झौता स्वीकृत गरेको थियो ।

गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि विद्युत् खरिद सम्झौता प्रक्रिया थप प्रभावित भयो । त्यसयता नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको विद्युत् खरिद सम्झौता पनि रोकिएको छ ।

प्राधिकरणका अनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग छ हजार ७१३ दशमलव ४४ मेगावाट, ५१ अर्धजलाशययुक्त आयोजनासँग चार हजार १८६ दशमलव ८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाट विद्युत् खरिद सम्झौता भइसकेको छ तर थप २८१ आयोजनासहित कुल १६ हजार ४२५ दशमलव ७७ मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौताको प्रतीक्षामा छन् ।

विद्युत् खरिद सम्झौता नहुँदा आयोजना विकासका लागि आवश्यक वित्तीय व्यवस्थापन प्रभावित हुँदै आएको छ। बैंक तथा वित्तीय संस्थाले विद्युत् बिक्रीको सुनिश्चितता खोज्ने भएकाले विद्युत् खरिद सम्झौतालाई आयोजना निर्माणका लागि लगानी जुटाउने प्रमुख आधार मानिन्छ । त्यसैले नयाँ ऊर्जा मिश्रणले विद्युत् खरिद सम्झौताको प्रक्रिया अघि बढाउन सहज बनाउनुका साथै निजी क्षेत्रको लगानी, आयोजना निर्माण र रोजगारी सिर्जनामा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नयाँ ऊर्जा मिश्रणमा वैकल्पिक ऊर्जा स्रोतलाई समेत स्थान दिने तयारी गरिएको छ। यसअघि नेपालको विद्युत् उत्पादन योजना मुख्यतः जलविद्युत्मा केन्द्रित रहँदै आएको थियो । पछिल्लो समय सौर्य ऊर्जाको हिस्सा विस्तार हुँदै गए पनि वायु ऊर्जाबाट हुने उत्पादन भने नगण्य छ। जलविद्युत्मा अत्यधिक निर्भर रहँदा हिउँदमा उत्पादन घट्ने र माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ ।

यस्तो निर्भरता घटाउन सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतलाई राष्ट्रिय ऊर्जा प्रणालीमा समेट्ने तयारी गरिएको हो। ती स्रोतको सम्भावना र उत्पादन क्षमताबारे मन्त्रालयले अध्ययन गरिरहेको छ ।

सन्तुलित ऊर्जा मिश्रणले वर्षायाम र हिउँद दुवैमा विद्युत् आपूर्ति व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी जलाशययुक्त र पम्प स्टोरेज आयोजनाले ऊर्जा सञ्चय गरी मागअनुसार आपूर्ति व्यवस्थापन गर्न सक्छन् । त्यस्तै, सौर्य र वायु ऊर्जाको विकासले उत्पादनका स्रोत र समयगत विविधता बढाउन सहयोग पु¥याउनेछ।

नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि नेपाल विद्युत् प्राधिकरणले आयोजनाको प्रकृति र आवश्यकताका आधारमा विद्युत् खरिद सम्झौता प्रक्रिया अघि बढाउन सक्नेछ। यसबाट लगानीको प्रतीक्षामा रहेका हजारौँ मेगावाट क्षमताका आयोजना विकासको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

तीस हजार मेगावाट उत्पादनको लक्ष्य हासिल गर्न उत्पादन क्षमता विस्तार मात्रै पर्याप्त हुने छैन। आन्तरिक विद्युत् खपत बढाउने, प्रसारण पूर्वाधार विस्तार गर्ने र अन्तरदेशीय विद्युत् व्यापारलाई पनि सँगसँगै अघि बढाउनुपर्नेछ । मौसमी मागअनुसार विद्युत् उपलब्धता सुनिश्चित गर्नुका साथै निर्यात बजार विस्तार गर्नु पनि चुनौतीका रूपमा रहेको छ ।

नेपालले भारतसँगै बङ्गलादेशमा समेत विद्युत् निर्यातको सम्भावना विस्तार गरिरहेका बेला सन्तुलित ऊर्जा मिश्रणले निर्यातयोग्य विद्युत् उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट विद्युत् व्यापारमार्फत विदेशी मुद्रा आर्जन गर्ने अवसरसमेत विस्तार हुन सक्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ