काठमाडौँ। नबिल बैंकले भिसा इन्टरनेसनलद्वारा प्रदान गरिने महत्वपूर्ण दुई विधामा अवार्ड जितेको छ। बैंकले यस वर्ष ‘एक्सीलेन्स इन कन्ट्याक्टलेस-इसुइङ’ (Excellence in Contactless – Issuing) र ‘एक्सीलेन्स इन ई-कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ (Excellence in E-Commerce Acquiring Business Principal Client) विधामा अवार्ड हात पारेको हो।
काठमाडौँस्थित मेरियट होटलमा सोमबार आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ (VISA Leadership Conclave) मा नबिल बैंकका प्रतिनिधिले उक्त विधाका अवार्डहरू ग्रहण गरेका थिए। यसअघि पनि यी विधाहरूमा नबिल बैंकको वर्चस्व रहँदै आएको छ।
अवार्ड प्राप्त गरेपछि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज कुमार ज्ञवालीले यस सम्मानले ग्राहकवर्गको सुविधा र सहजतालाई ध्यानमा राखी निरन्तर नवीनता र नवप्रवर्तनलाई आत्मसात गर्न थप ऊर्जा प्राप्त भएको बताएका छन्। “हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,” उनले भने।
भिसा इन्टरनेसनल एक अग्रणी कार्ड प्रदायक कम्पनी हो, जसले नेपालमा बर्सेनि ‘भिसा लिडरसिप कन्क्लेभ’ आयोजना गर्दै आएको छ। नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले महत्वपूर्ण उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ।
चार दशकभन्दा लामो बैंकिङ यात्रा पूरा गरिसकेको नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको यस बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अगाडि बढाएको छ। बैंकले देशभर रहेका २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।