मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

  • सोमवार, मंसिर ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

नयाँ दिल्ली (भारत), ७ मङ्सिरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताउनुभएको छ । प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित यहाँस्थित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उहाँले छोटो समयको कुराकानीबाटै शाहको दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको बताउनुभयो ।

“केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उहाँले विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो । आजको कुराकानीमा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु”, प्रधानमन्त्री मोदीले भन्नुभयो ।

उहाँले नेपाली जनताले यस वर्ष प्रधानमन्त्री शाहलाई दिएको ऐतिहासिक जनादेश नयाँ पुस्ताका आकाङ्क्षा र आशाको प्रतिबिम्ब भएको उल्लेख गर्दै सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहने बताउनुभयो ।

भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्र नभई अद्वितीय विश्वासमा आधारित रहेको उल्लेख गर्दै उहाँले दुवै देशका खुसी र चुनौती साझा रहेको बताउनुभयो । एकअर्काको प्रगतिका साझेदार तथा कठिन समयमा सहयोगी रहेको उल्लेख गर्दै उहाँले हालै नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो ।

रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज घोषणा

नेपालमा पुनर्निर्माण र दीर्घकालीन विकासलाई सुदृढ बनाउन भारतले रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको भारतीय प्रधानमन्त्री मोदीले जानकारी दिनुभयो । उक्त सहयोगले प्रभावित परिवारको जीवन सामान्य बनाउन, नयाँ अवसर सिर्जना गर्न तथा भविष्यमा विपद् सामना गर्ने नेपालको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको निकटतामा आधारित रहेको बताउनुभयो । भगवान् राम र माता सीतालाई दुवै देशको साझा सभ्यता र आस्थाका प्रतीकका रूपमा उल्लेख गर्दै उहाँले जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आजदेखि सुरु गरिएको ‘सरयू–कमला’ रेल सेवाले अयोध्या आउने श्रद्धालुलाई जनकपुर पुगेर माता सीताको दर्शन गर्न सहज हुने उहाँले बताउनुभयो । साथै, लुम्बिनी र बोधगयासहित दुवै देशका बौद्ध तथा शिवशक्तिसँग सम्बन्धित पवित्र स्थलबीच सम्पर्क विस्तार गर्न सहकार्य गरिने भारतीय प्रधानमन्त्री मोदीले जानकारी दिनुभयो ।

यसैगरी, उत्तराखण्ड र नेपालबीच धारचुला सडक पुलको उद्घाटन तथा बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको उहाँले बताउनुभयो । नेपालतर्फ दोधारा चाँदनीमा एकीकृत जाँच चौकी निर्माणको काम पनि तीव्र गतिमा अघि बढाइने उहाँको भनाइ थियो ।

यी परियोजनाले नेपाल र भारतबीच व्यापार तथा आवतजावत सहज बनाउने उल्लेख गर्दै उहाँले बिहार, उत्तर प्रदेशलगायत भारतीय राज्य र नेपालबीच सडक, रेल तथा सीमा सम्पर्क विस्तारका परियोजनालाई गति दिइने बताउनुभयो । नेपालको पारवहन व्यापार सहज बनाउन काङ्गडा र पारादीप बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपालका नदीमा स्वच्छ ऊर्जा उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले त्यसको उपयोगबाट नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन भारतको ऊर्जा बजार सहयोगी बन्न सक्ने बताउनुभयो । तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र अरुण–३ आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता यसै प्रयासको हिस्सा रहेको उहाँले उल्लेख गर्नुभयो ।

भारतले नेपाललाई पेट्रोलियम पदार्थ तथा अन्य आवश्यक वस्तुको विश्वसनीय आपूर्तिकर्ताका रूपमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले आपूर्तिमा चुनौती हुँदासमेत नेपालमा इन्धन, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति कायम राखिएको बताउनुभयो ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन र झापामा पेट्रोलियम पदार्थ भण्डारण केन्द्रको शिलान्यासले दुई देशबीचको आपूर्ति साझेदारी थप सुदृढ हुने उहाँले बताउनुभयो ।

नेपालको युवा पुस्तामा प्रतिभा, ऊर्जा र ठूला सपना रहेको उल्लेख गर्दै उहाँले ती आकाङ्क्षा पूरा गर्न भारत सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । यसका लागि नेपालमा नयाँ उद्यम प्रवद्र्धन केन्द्र, नवप्रवर्तन केन्द्र तथा भारतीय प्राविधिक संस्थानको बाह्य परिसर स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ