नयाँ दिल्ली (भारत), ७ मङ्सिरः नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीले सोमबार हरियो झन्डा देखाएपछि उत्तर प्रदेशको अयोध्यास्थित क्यान्ट स्टेशनबाट जनकपुरका लागि सरयुग–कमला रेल एक्सप्रेस गुडेको छ ।
१७ डिब्बामा करिब १ हजार यात्रु बोकेर उक्त भारतीय रेल्वे मंगलबार विहान जनकपुर स्टेशनमा आइपुग्नेछ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झन्डा देखाएपछि भिडिओ कन्फरेन्समा रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ताली बजाउँदै अयोध्याबाट जनकपुर गुडेको सरयु–कमला एक्सप्रेसको सोमबार दिउँसो १ बजेर ४५ मिनेटमा बिदाई गरेका छन् । नेपाल र भारतबीच सञ्चालनमा आएको सरयु–कमला एक्सप्रेस नै दुई देशबिचको पहिलो रेल सेवा हो ।
भारत सरकारकै सहयोगमा सीमावर्ती सहर जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको भंगहासम्म ब्रोडगेज रेल्वे लाइन ओछ्याइएको छ । नेपालले आफै निर्माण गरिरहेको पूर्व–पश्चिम रेलमार्गसँग जोड्न त्यो ब्रोडगेजलाई बर्दिवाससम्म बिस्तार गरिँदैछ । ब्रोडगेजमा हाल नेपाल सरकारले आफ्नै दुईवटा आधुनिक रेल इञ्जिन दैनिक तीन पटक जयनगर–जनकपुर–भगहासम्म यात्रुवाहक सेवा सञ्चालन गरिरहेको छ । कात्तिकको दोस्रो साता अयोध्याबाट आएको रेललाई जनकपुरसम्म ल्याएर परिक्षण गरिएको थियो ।
अयोध्याबाट जनकपुरधामसम्मको करिब ६०४ किलोमिटर दूरी रेलमार्फत करिब १९ घण्टामा पूरा हुनेछ । उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै सञ्चालन हुने यो रेल सेवाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै दुई देशबीचको सीमापार आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।
‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ नाम दिइएको रेल भारतको बिहारस्थित जयनगर रेल्वे स्टेसन हुँदै नेपाल प्रवेश गर्नेछ । रेलले जनकपुरधाम, जयनगर, मधुबनी, सिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर, अयोध्या धाम र अयोध्या क्यान्ट स्टेसनमा यात्रु चढाउने तथा ओराल्नेछ ।
रेल सेवा सातामा एक दिन दुवैतर्फ सञ्चालन हुनेछ । जनकपुरधामबाट अयोध्या क्यान्टसम्म जाने रेलको नम्बर १५५९५ र अयोध्या क्यान्टबाट जनकपुरधाम आउने रेलको नम्बर १५५९६ निर्धारण गरिएको छ ।
जनकपुरधामबाट अयोध्या जाने रेल शनिबार दिउँसो १ः१० बजे प्रस्थान गरी आइतबार बिहान अयोध्या क्यान्ट पुग्ने तालिका छ । त्यस्तै, अयोध्या क्यान्टबाट सोमबार साँझ ५ः५० बजे प्रस्थान गर्ने रेल मंगलबार दिउँसो १२ः४० बजे जनकपुरधाम पुग्नेछ । नेपालका रेल स्टेसनमा तोकिएका समय भारतीय समयभन्दा १५ मिनेट अगाडि हुने भएकाले यात्रुले स्थानीय समयअनुसार तालिका हेर्नुपर्नेछ ।
अयोध्या भगवान् रामको जन्मस्थल र जनकपुरधाम माता सीताको जन्मस्थलका रूपमा धार्मिक महत्त्व बोकेका स्थान हुन् । नयाँ रेल सेवाबाट धार्मिक पर्यटक, आफन्त भेटघाटका लागि यात्रा गर्ने व्यक्ति, विद्यार्थी र व्यवसायी लाभान्वित हुनुका साथै पर्यटन व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि भारतबाट रेलमार्फत जनकपुरधाम जाने यात्रुले बिहारको जयनगर पुगेर सीमासम्बन्धी प्रक्रिया पूरा गरेपछि नेपालतर्फको रेल परिवर्तन गर्नुपर्ने व्यवस्था थियो । नयाँ सेवाबाट आवश्यक सीमासम्बन्धी जाँच पूरा गरेपछि एउटै रेलमा यात्रा जारी राख्न सकिने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।