सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साँझ ५ बजे सुरू हुने दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नुपरेको हो। यता चितवन राइनोजले भने बुधबार भएको इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको थियो।
यसअघि लिग चरणको खेलमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले हराएको थियो। दोस्रो भेटमा पनि चितवनलाई पाखा लगाउँदै पुनः लुम्बिनी लायन्ससँगको उपाधि भिडन्त तय गर्ने दाउमा सुदूरपश्चिम रहेको छ।
अर्कोतर्फ चितवन राइनोज लिग चरणमा बेहोरेको हारको बदला लिँदै पहिलोपटक फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिनेछ। दोस्रो क्वालिफायरको विजेताले आगामी शनिबार हुने फाइनल खेलमा उपाधिका लागि लुम्बिनी लायन्सको सामना गर्नेछ।