काठमाडौँ। सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो। जारी प्रतियोगितामा सुदूरपश्चिम लुम्बिनीसँग दोस्रो पटक पराजित भएको हो। यसअघि उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो।
सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा निरोसन डिकवेल्लाले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५९ रनको योगदान दिए। यस्तै, कप्तान रोहित पौडेलले २१ रन बनाए भने कप्तान पौडेल र डिकवेल्लाबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो। सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले २ तथा स्कट कुग्लेजिन र हेमन्त धामीले १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सकेको थियो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ५२ रन र इशान पाण्डेले २७ रन बनाए। यी दुईबीच चौथो विकेटका लागि ६४ रनको साझेदारी भएको थियो। सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। लुम्बिनीका रुवेन ट्रम्पलमेन र शेर मल्लले २-२ विकेट लिए भने अविशेष गौतम र किशोर महतोले १-१ विकेट हात पारे।
हारका बाबजुद सुदूरपश्चिमले फाइनल पुग्नका लागि थप एक अवसर पाउनेछ। सुदूरपश्चिमले अब दोस्रो क्वालिफायरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच बुधबार हुने एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।