२७ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। पाँच खेल खेलेको काठमाडौं चार जित र एक हारसहित ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। यस्तै, ६ खेल खेलेको सुदूरपश्चिमले चार जित र दुई हारबाट ८ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ।
आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।
अंक तालिकामा चितवन पाँचौं स्थानमा छ। पाँच खेल खेलेको चितवनले दुई जित र दुई हार बेहोरेको छ भने वर्षाका कारण एक खेल रद्द भएपछि अंक बाँडेको थियो।
यस्तै, जनकपुर बोल्ट्स छैटौं स्थानमा छ। ६ खेल खेलेको जनकपुरले दुई खेलमा जित र चार खेलमा हार बेहोरेको छ।
आजका दुवै खेल अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने दृष्टिले महत्त्वपूर्ण हुनेछन्।