काठमाडौं । अमेरिका र इरानबीच पुनः सैन्य द्वन्द्व चर्किने जोखिम बढिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले कूटनीतिक वार्ता पुनः सुरु गर्न प्रस्तावसहित इरानलाई व्यक्तिगत पत्र पठाएका छन्।
बेलायती सञ्चारमाध्यम द गार्डियन का अनुसार कतारको मध्यस्थतामा तयार पारिएको उक्त पत्र आइतबार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईलाई पठाइएको हो।
पत्रको पूर्ण विवरण सार्वजनिक नभए पनि अमेरिकाले प्रतिबन्धमा केही राहत दिने बदलामा इरानले आफ्नो आणविक कार्यक्रमबारे सुरुमै ठोस प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव गरेको बताइएको छ।
अमेरिकी प्रस्तावअनुसार सात दिनभित्र स्ट्रेट अफ हर्मुज खुलाउने प्रक्रिया अघि बढाउनुपर्नेछ। त्यसपछि आणविक कार्यक्रमसम्बन्धी वार्ता अगाडि बढाउने अमेरिकी पक्षको तयारी रहेको समाचारमा उल्लेख छ।
तर इरानले अमेरिकी प्रस्तावप्रति पूर्ण सहमति जनाइसकेको छैन। अमेरिकाले प्रतिबन्धमा दिएको छुट जुनसुकै बेला फिर्ता लिन सक्ने अवस्थामा इरानले भने तत्कालै अपरिवर्तनीय प्रतिबद्धता जनाउनुपर्ने प्रस्तावप्रति तेहरानले आशंका व्यक्त गरेको छ।
विशेषगरी उच्च प्रशोधित युरेनियमको मौज्दात तेस्रो मुलुकमा पठाउने प्रस्तावमा इरान तत्काल सहमत देखिएको छैन। बरु उक्त युरेनियमलाई अन्य पदार्थसँग मिसाएर आणविक हतियार निर्माण गर्न नसकिने अवस्थामा पुर्याउने विकल्प इरानले अघि सारेको बताइएको छ।
इरानका प्रमुख वार्ताकार मोहम्मद गलिबाफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई इरानका सर्त स्पष्ट रूपमा जानकारी गराइसकिएको बताएका छन्।
उनका अनुसार प्रतिबन्ध हटाउने, विदेशमा रोक्का राखिएका इरानी सम्पत्ति फुकुवा गर्ने र सबै मोर्चामा युद्ध अन्त्य गर्ने विषय इरानका प्रमुख सर्त हुन्। यसमा लेबननमा जारी युद्धसमेत अन्त्य हुनुपर्ने इरानको माग रहेको छ।
त्यस्तै, संयुक्त राष्ट्रसंघका आणविक निरीक्षकलाई पुनः इरान प्रवेश गर्न दिने विषयमा पनि तेहरान अनिच्छुक देखिएको छ। निरीक्षकमार्फत अमेरिकाले इरानको युरेनियम भण्डार र त्यसको अवस्थाबारे जानकारी प्राप्त गर्न सक्ने इरानको आशंका छ।
दुई देशबीच हुने सम्भावित सहमति कार्यान्वयन सुनिश्चित गर्न तेस्रो पक्षको प्रत्याभूति आवश्यक पर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ। यसका लागि चीनको नाम चर्चामा छ।
यसअघि पनि भान्सले अमेरिका र इरानबीच १४ बुँदे समझदारी जुटाउन भूमिका खेलेका थिए। तर अमेरिकी प्रशासनभित्रै कार्यान्वयनको जिम्मेवारी र समझदारीका विषयमा मतभेद देखिएपछि उक्त सहमति अघि बढ्न सकेको थिएन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यसअघिको समझदारीप्रति असन्तुष्ट रहेको बताइएको छ।
यता, इरानले युद्ध चर्किए खाडी क्षेत्रमा रहेका अमेरिकी स्वार्थमाथि प्रत्याक्रमण गर्ने तयारी गरिरहेको समाचारमा उल्लेख छ। समुद्री पानी प्रशोधन केन्द्र, समुद्रमुनि बिछ्याइएका इन्टरनेट केबल तथा विद्युत् प्रसारण प्रणालीजस्ता पूर्वाधार सम्भावित निशानामा पर्न सक्ने उल्लेख गरिएको छ।
यसैबीच अमेरिकी सिनेटर क्रिस मर्फीले इरानमाथि पुनः आक्रमण गर्ने अमेरिकी सैन्य योजनाको आलोचना गरेका छन्। मध्यपूर्व अध्ययन संस्थानमा आयोजित ब्रिफिङमा उनले प्रस्तावित सैन्य योजनाले युद्ध थप चर्काउने र अमेरिकी राष्ट्रिय सुरक्षामा समेत नकारात्मक असर पार्न सक्ने बताएका छन्।
अब भान्सले पठाएको पत्रमा इरानले कस्तो जवाफ दिन्छ भन्ने विषयले दुई देशबीच कूटनीतिक वार्ता अघि बढ्ने वा पुनः सैन्य तनाव बढ्ने भन्ने आगामी दिशालाई प्रभावित गर्ने देखिएको छ।