भुटानको गासा जिल्लामा बिहीबार राति सिन्ताफु हिमताल फुट्दा आएको भीषण बाढीले व्यापक क्षति पुर्याएको छ। बाढीले गासाको प्रसिद्ध तातोपानी कुण्ड ‘गासा त्शाचु’ पूर्ण रूपमा बगाएको छ भने पुनाखा-गासा राजमार्ग र लाआ जोड्ने सडक क्षतिग्रस्त हुँदा यातायात ठप्प भएको छ। बाढीले पुनाखामा सौर्य ऊर्जाबाट चल्ने सिँचाइ प्रणालीसमेत नष्ट गरेको छ। हालसम्म मानवीय क्षतिको खबर भने आएको छैन।
हिमताल फुटेपछि संकोश नदीमा जलसतह ह्वात्तै बढेको छ। यो नदी भुटान हुँदै भारतको पश्चिम बंगाल र असममा प्रवेश गर्ने भएकाले दुवै राज्यका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। पश्चिम बंगालका अलिपुरद्वार र कुचबिहार तथा असमको धुबरी क्षेत्रमा विशेष निगरानी बढाइएको छ। जोखिमलाई ध्यानमा राख्दै अलिपुरद्वारका १० हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थान तथा राहत शिविरमा सारिएको छ। साइरन बजाएर सर्वसाधारणलाई सचेत गराउनुका साथै उद्धारका लागि NDRF, SDRF र आपत्कालीन टोलीहरू तैनाथ गरिएका छन्।
बिहीबार राति करिब ८:१५ बजे फुटेको सिन्ताफु हिमताल भुटानका १७ वटा अति संवेदनशील हिमतालहरूमध्ये एक हो। मोछु नदी हुँदै संकोशमा मिसिने यो बाढी ६ देखि ८ घण्टाभित्र भारत-भुटान सीमासम्म पुग्ने आकलन गरिएको थियो। हिमताल फुट्नुको कारण, बाढीको बहाव र कुल क्षतिको विस्तृत मूल्यांकन भइरहेको छ।