न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पेस्तोल र गोली सहित पक्राउ 

न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पेस्तोल र गोली सहित पक्राउ 

  • बिहिबार, अशोज २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

२९ असोज, काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका फरार प्रतिवादी बाबु थापा सर्लाहीबाट पुन: पक्राउ परेका छन्।

गत भदौ २४ गते देशमा भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका उनलाई प्रहरीले सर्लाहीको बागमती नगरपालिकास्थित मिलनचोकमा रहेको आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार राति छापा मारी उनलाई पक्राउ गरेको सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिएका छन्। पक्राउ पर्ने क्रममा थापाको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोलीसमेत बरामद गरिएको छ। बरामद हतियारका आधारमा उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतमा छुट्टै मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

कारागारबाट भागिसकेपछि थापा नेपाल र भारतका विभिन्न स्थानमा भेष बदलेर तथा अरूकै मोबाइल प्रयोग गर्दै लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको छ।

यसअघि २०६९ जेठ १८ गते ललितपुरको युएन पार्क क्षेत्रमा बंगलामुखी मन्दिरको दर्शन गरी फर्कँदै गर्दा न्यायाधीश बममाथि गोली हानी हत्या गरिएको थियो। अनुसन्धानका क्रममा चुरेभावर राष्ट्रिय पार्टीभित्रको नेतृत्व विवादमा तत्कालीन न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई वैधानिकता नदिने गरी अन्तरिम आदेश दिएपछि सोही रिसइबीका कारण हत्याको योजना बनाइएको निष्कर्ष निकालिएको थियो।

उक्त घटनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई वर्ष सात महिनाको कडा निगरानीपछि २०७१ सालमा थापालाई पहिलोपटक पक्राउ गरेको थियो। तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उक्त पक्राउलाई प्रहरीको घाँटीमा अड्किएको काँडा निकालिएको सफलताको रूपमा टिप्पणी गरेका थिए।

अदालतबाट जन्मकैदको सजाय पाई थुनामा रहेका थापा भदौमा जेलबाट भागेका थिए भने अन्ततः प्रहरीले उनलाई हतियारसहित आफ्नै निवासबाट नियन्त्रणमा लिन सफल भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ