२८ असोज, २०८३ (१४ अक्टोबर, २०२६)
काठमाडौँ। नेपालबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार असोज २८ गते (अक्टोबर १४) ‘मनसुन बहिर्गमन बुलेटिन-२’ जारी गर्दै देशभरि नै मनसुन नरहेको आधिकारिक घोषणा गरेको हो। यससँगै नेपालमा औपचारिक रूपमा वर्षायाम समाप्त भई ‘पोस्ट-मनसुन’ सिजन सुरु भएको छ।
यसअघि मौसम विभागले असोज १७ गते (अक्टोबर ३) ‘मनसुन बहिर्गमन बुलेटिन-१’ जारी गर्दै सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका अधिकांश स्थान र गण्डकीका केही पश्चिमी भेगबाट मनसुन हटेको जानकारी दिएको थियो। नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्ष मनसुन १२ दिन ढिला बाहिरिएको छ। यस वर्ष जुन १९ मा कोसी प्रदेशबाट भित्रिएको मनसुन जुन ३० मा देशभर फैलिएको थियो।
मनसुनी अर्थात् पूर्वी वायुको प्रभाव अन्त्य भएसँगै देशभर पश्चिमी वायुको प्रभाव पूर्ण रूपमा कायम भएको छ। पश्चिमी वायुको आगमनले देशमा चिसो बढाउने र हिमपात गराउने सम्भावना रहन्छ। मौसमविद्का अनुसार अक्टोबर र नोभेम्बर दुई महिना पोस्ट-मनसुन रहनेछ भने डिसेम्बरदेखि फेब्रुअरीसम्म हिउँद (विन्टर), मार्चदेखि मेसम्म प्रि-मनसुन र जुनदेखि सेप्टेम्बरसम्म मनसुन रहने गरी नेपालको मौसमलाई चार भागमा वर्गीकरण गरिन्छ।