काठमाडौं। दिवंगत पत्रकार पदम श्रेष्ठको व्यक्तित्व, कृतित्व, संघर्ष र समाजमा पुऱ्याएको योगदानको अभिलेखिकरण गर्दै प्रकाशित स्व पदम श्रेष्ठ स्मृतिग्रन्थ उहाँको जन्मजयन्तीको अवसर पारी आज घटस्थापनाका दिन सार्वजनिक भएको छ।
स्व पदम श्रेष्ठ स्मृतिग्रन्थ प्रकाशन समूहद्वारा आज टेकुस्थित पचली भैरवमा रहेको नेपाली लोकबाजा संग्रहालयमा अतिथिहरू तथा स्व.पदम श्रेष्ठका परिवारका सदस्यहरूबात स्मृतिग्रन्थ सार्वजनिक तथा सार्वजनिकीकरण गरिएको हो ।
कार्यक्रमको अध्यक्षता ८४ वर्षीय ज्येष्ठ पत्रकार प्रेमनाथ जोशीले गर्नुभयो। कार्यक्रममा स्वा· पदम श्रेष्ठकी ममतामयी माता सीतादेवी श्रेष्ठ, धर्मपत्नी शिवा तामाङ, छोरी उपमा श्रेष्ठलगायत परिवारका सदस्य, पत्रकार, साहित्यकार, सामाजिक व्यक्तित्व तथा शुभेच्छुकहरूको सहभागिता रहयो ।
कार्यक्रममा नेपाली लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कँडेलले स्वागत मन्तव्य राख्नुभयो। कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले गर्नुभयो।
स्मृतिग्रन्थ सार्वजनिक कार्यक्रममा पत्रकार एवं घोस्ट राइडर नेपालका संस्थापक कमल ढकालले पुस्तकमा समेटिएको विषयवस्तु, स्व पदम श्रेष्ठको व्यक्तित्व तथा उहाँले समाजमा पुऱ्याउनु भएको योगदानको विषयमा मन्तव्य राख्नुभएको थियो। त्यसैगरी पत्रकार कुमार रञ्जित, स्व पदम श्रेष्ठकी धर्मपत्नी शिवा तामाङ, सम्पादकमध्येका शम्भू श्रेष्ठ तथा रसिला तामाङले पनि मन्तव्य राख्नुभएको थियो।
सूचक प्रकाशनका दीपक भेटवालले धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यक्रमका सभापति प्रेमनाथ जोशीले समापन मन्तव्य राख्नुभयो। कार्यक्रमको प्रारम्भमा एक मिनेट मौनधारण तथा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।
स्व पदम श्रेष्ठको जीवनयात्रा, उहाँको व्यक्तित्व, सामाजिक सम्बन्ध, संघर्ष र योगदानलाई समेटेर तयार पारिएको स्मृतिग्रन्थले उहाँसँग जोडिएका अनुभव, सम्झना र सिर्जनात्मक योगदानलाई भावी पुस्तासम्म पुऱ्याउने अपेक्षा गरिएको छ। स्मृतिग्रन्थमा उहाँलाई नजिकबाट चिन्ने व्यक्तिहरूका लेख, संस्मरण तथा श्रद्धाञ्जली समेटिएका छन्। उहाँको जीवनका विभिन्न पक्षलाई अभिलेखिकरण गर्दै समाजमा पुऱ्याएको योगदानको मूल्याङ्कन गर्ने प्रयास पुस्तकमा गरिएको छ।
स्मृतिग्रन्थ प्रकाशनका लागि सहयोग पुऱ्याउने पाथीभरा प्रतिकृति मन्दिरका कोषाध्यक्ष पूजन बस्नेत, बेखराम बलामौ, भगवती तिमल्सिना, कमल ढकाल, विजय महर्जनलगायत सहयोगी तथा शुभेच्छुकहरूप्रति प्रकाशन समूहले आभार व्यक्त गरेको छ।
व्यक्तिको योगदान र सम्झनालाई अभिलेखमा सुरक्षित राख्ने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रमले स्व· पदम श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँको जीवन र योगदानबारे नयाँ पुस्तालाई परिचित गराउने विश्वास लिइएको छ।