पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

  • आइतवार, अशोज २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

कास्की, २५ असोजः पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि आजदेखि भक्तजनलाई पूजा गर्न खुला भएको छ ।

घटस्थापनाका दिन पारेर मन्दिर खुला गरिएको मन्दिरका पुजारीसमेत रहनुभएका तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताउनुभयो ।

“क्षमा पूजा गरेर विधिवत् रूपमा घटस्थापनाको दिनमा देवीको शक्ति पुरानो शिलामा सारेका छौँ । अब भक्तजनले उल्लासपूर्वक पूरानै शिलामा दर्शन तथा पूजाआजा गर्न सक्नुहुन्छ”, पहारीले भन्नुभयो । उहाँका अनुसार विसं २०८० कात्तिकदेखि मन्दिर पुनर्निर्माण सुरु भएपछि मन्दिरमा नियमित पूजाआजा बन्द भएको थियो ।

पुनर्निर्माणका क्रममा मन्दिरमा नियमित पूजाआजा बन्द रहेकाले नजिकैको हवनकुण्ड रहेको स्थानमा चाँदीको मूर्तिमा प्राण प्रतिष्ठा गरी पूजाआजा हुँदै आएको थियो । मन्दिर खुला भएसँगै पूजाका लागि भक्तजनले पहिलो दिनमा भीड लागेको थियो । नवदुर्गा सुरु भएकालेसमेत अबका दिनमा भक्तजनको उल्लासपूर्वक सहभागिता हुने विश्वास गरिएको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पका कारण मन्दिर करिब तीन इन्च दक्षिणतर्फ ढल्किनुका साथै केही भाग दबिएपछि यसको संरचनामा जोखिम देखिएको थियो । पुरातत्व विभागको निर्देशन तथा समन्वयमा तीन वर्ष समय लगाएर मन्दिर पुनर्निर्माण गरिएको हो । मन्दिर पुनर्निर्माणका लागि रु एक करोड ६५ लाख खर्च भएको गुठी व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरलाई यसको मौलिक स्वरूप र परम्परागत वास्तुकला कायम हुनेगरी पुनर्निर्माण गरिएको हो । प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरका लागि भक्तपुर र ललितपुरबाट दक्ष कालीगढ ल्याइएको थियो । प्यागोडा शैलीका मन्दिरमा तहगत छाना, काठका कलात्मक संरचना, परम्परागत झ्लालढोका तथा धार्मिक प्रतीकात्मक आकृतिको प्रयोग भएको छ ।

फेवातालको बीचमा मन्दिर रहेकाले यहाँको धार्मिक आस्था र प्राकृतिक सौन्दर्य एकसाथ अनुभव गर्न सकिन्छ । डुङ्गाबाट मन्दिरतर्फ जाँदा तालको पानी, वरिपरिको हरियाली र हिमाली दृश्यले तालबाराहीलाई धार्मिक गन्तव्यसँगै महत्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा स्थापित गरेको छ ।

तालबाराही मन्दिरको इतिहास निकै पुरानो मानिन्छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले फेवातालको बीचमा रहेको ढिस्कोमा खरको झुप्रो बनाएर मन्दिर स्थापना गरेको जनश्रुति छ । मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहेको स्थानीय धार्मिक मान्यता छ ।

प्राचीन समयमा माटोको ढिस्कोमा रहेको शिलालाई देवीका रूपमा पूजा गर्न थालिएको र पछि त्यही स्थानमा मन्दिर स्थापना गरिएको बताइन्छ । सामान्य झुप्रोको स्वरूपमा रहेको मन्दिरलाई तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा अहिलेको स्वरूपमा निर्माण गराउनुभएको थियो । त्यसपछि तालबाराही मन्दिर पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित भएको हो ।

फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले भोटेकोशी बाढीपछि पर्यटक आगमन न्यून हुँदा डुङ्गा चढ्नेसमेत घटेकामा अबदेखि मन्दिर खुला भएपछि भक्तजन तथा यात्रुको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ