२५ असोज, २०८३ (११ अक्टोबर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा भइरहेको पदाधिकारीहरूको मतगणनामा उम्मेदवारहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबार साँझ ७ बजेसम्म कुल चार हजार ६ सय मत गणना सम्पन्न भएको छ। महाधिवेशनमा कुल सात हजार २९ मत खसेको थियो।
उपसभापति पदको खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले दुई हजार ३४३ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई फराकिलो बनाउनुभएको छ। खुलातर्फ दुई पदका लागि भइरहेको यस प्रतिस्पर्धामा मधु आचार्यले एक हजार ४४१ मत ल्याएर दोस्रो स्थानमा रहनुभएको छ। यस्तै अन्य उम्मेदवारहरूमा गोविन्द भट्टराईले एक हजार १२१९, सुरेन्द्रराज पाण्डेले एक हजार १५०, धनराज गुरुङले एक हजार ५३, दीपक गिरीले ६३८ र चन्द्रमोहन यादवले ३८७ मत प्राप्त गर्नुभएको छ। समावेशी उपसभापतितर्फ विनोद चौधरीले एक हजार १४५ मतसहित अग्रता कायम राख्नुभएको छ भने उहाँलाई जीवन परियारले एक हजार १०७, सीता गुरुङले ७४९, फरमुल्लाह मंसुरले ६३७ र रंजीत कर्णले ३५२ मतका साथ पछ्याइरहनुभएको छ।
महामन्त्री पदको खुलातर्फ प्रदीप पौडेलले दुई हजार ६५७ मत प्राप्त गर्दै निकै बलियो अग्रता लिनुभएको छ। खुला महामन्त्रीका अन्य उम्मेदवारहरूमा उदयशम्शेर राणाले एक हजार ४९१, सुनिलकुमार शर्माले एक हजार ३८७, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८, शंकर तिवारीले ८८ र सन्तोष उपाध्यायले ७२ मत ल्याउनुभएको छ। यसै गरी महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले दुई हजार ३७ मत प्राप्त गर्नुभएको छ भने महालक्ष्मी उपाध्याय (डिना) ले एक हजार ८३८ र रीता खनालले ४६६ मत प्राप्त गर्नुभएको छ। निर्वाचन समितिले बाँकी मतहरूको गणना निरन्तर जारी रहेको जनाएको छ।