२५ असोज, २०८३ (११ अक्टोबर, २०२६)
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले गोरखाको चुमनुब्रीस्थित उग्युलुङ खोलामा पहिरो गएपछि बूढीगण्डकी नदीमा आएको भीषण बाढी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारले सम्पूर्ण शक्ति परिचालन गरिसकेको जानकारी दिनुभएको छ। आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत विस्तृत विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित बासिन्दाको उद्धार, राहत तथा क्षतिग्रस्त भौतिक पूर्वाधारहरूको पुनः सञ्चालनका लागि आवश्यक कदम अघि बढाइएको स्पष्ट पार्नुभएको हो।
बाढीका कारण ५ जना बेपत्ता हुनुका साथै १३२ वटा भौतिक संरचना, झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बूढीगण्डकी हाइड्रो क्याम्प क्षेत्र र आसपासका घरहरू बगेका छन्। प्रधानमन्त्री शाहका अनुसार घटना लगत्तै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। निर्माणाधीन बूढीगण्डकी हाइड्रोका १२ कर्मचारीसहित ४८ जनाको सफल उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ भने नेपाली सेनाका चारवटा हेलिकप्टरसहित सेना, प्रहरी र सशस्त्र प्रहरी गरी कुल ४३७ जना सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। साथै घटनाको वास्तविक कारण पत्ता लगाउन भूगर्भविद्सहितको टोलीलाई ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
सरकारले आरूघाटमा आवागमन सहज बनाउन तत्काल बेलिब्रिज जडानको तयारी थालिसकेको र सडक विभागको प्राविधिक टोली सम्भाव्यता अध्ययनका लागि खटिइसकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ६ वटा तटीय जिल्लाका करिब २ लाख नागरिकलाई पूर्वसूचनामूलक एसएमएस पठाएको र राहत सामग्रीको ढुवानी तीव्र पारिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बूढीगण्डकी तटीय क्षेत्रका नागरिकलाई अझै पनि सतर्क रहन र जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न आग्रह गर्नुभएको छ।