बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

  • सोमवार, अशोज २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 133
    SHARES

बर्दिया, २६ असोजः यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ । गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर (केज) राखेको थियो ।

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको उद्धार गरी करिब ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारामा बुझाइएको उहाँले जानकारी दिनुभयो ।

गत बिहीबार मध्यराति राजापुर नगरपालिका-३ चख्खापुरस्थित सडकमा बसिरहेका बेला चितुवाले थारुमाथि आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका थारुलाई स्थानीयले तत्काल उद्धार गरी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकामा उपचारकै क्रममा शुक्रबार उहाँको मृत्यु भएको थियो ।

चितुवाको आक्रमणबाट थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालयले शुक्रबारदेखि खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गरेको वरिष्ठ वन अधिकृत चापागाईंले बताउनुभयो । “मानिसमाथि आक्रमण गरेपछि दुई वटा खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो । आज मात्रै नियान्त्रणमा लिन सफल भएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षमा बर्दियामा चितुवाको सुरक्षित उद्धार गरिएको यो पहिलो घटना भएको कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्लामा चितुवाको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म चितुवाको आक्रमणबाट एक जनासहित ३८ वटा घरपालुवा जनावर मारिएका डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

गाउँबस्तीमा खसी, बाख्रा, बङ्गुर, गाई, भैँसी, कुकुरलगायत घरपालुवा जनावरमाथि चितुवा तथा बाघले आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले खोर राखेर तिनलाई नियन्त्रणमा लिने प्रयास गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ