नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

  • बुधबार, अशोज २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 76
    SHARES

काठमाडौँ, २१ असोजः नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज यहाँ हुँदैछ । नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले र रुसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नुहुनेछ ।

नेपाल र रुसबीच नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले सन् १९९५ मा परामर्शसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो । संयन्त्रको पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौँमा भएको थियो ।

आजको बैठकमा नेपाल–रुस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोगलगायतका क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । क्षेत्रीय तथा अन्तरराष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषयले पनि बैठकमा स्थान पाउनेछन् ।

यसैबीच, उपविदेशमन्त्री रुडेन्कोले मङ्गलबार साँझ काठमाडौँमा रुसी दूतावासले आयोजना गरेको ‘ओपन डाइलग’मा बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।

उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे उठाएको विषयको प्रशंसा गर्दै जलवायु परिवर्तनसम्बन्धी समस्या विश्वका लागि ‘अलार्म बेल’ भएको बताउनुभयो ।

नेपालले भोगिरहेको विपद्का बेला रुस आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । रुस आफैँ विभिन्न चुनौती र समस्यासँग जुधिरहेको भए पनि नेपाललाई आवश्यक सहयोगका लागि सम्भव सबै प्रयास गर्न तयार रहेको उहाँको भनाइ थियो ।

ओपन डाइलगमा उहाँले नेपालका विद्यार्थीलाई उच्च शिक्षाका लागि रुसमा अध्ययन गर्ने अवसरबारे पनि जानकारी दिँदै आगामी शैक्षिक वर्षमा नेपाली विद्यार्थीका लागि ५२ छात्रवृत्ति कोटा उपलब्ध गराउने बताउनुभयो ।

उपविदेशमन्त्री रुडेन्कोले शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धलाई नेपाल–रुस सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यस्ता क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रुसी उपविदेशमन्त्री रुडेन्कोको नेपाल भ्रमणका क्रममा नेपाली नागरिक रुसी सेनामा भर्ती भएको विषय, बेपत्ता तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्तिलगायतका विषयमा पनि नेपाली पक्षले छलफलमा उठाउने अपेक्षा गरिएको छ ।

साथै उहाँले क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा बहुपक्षीय मञ्चहरुमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मस्कोले नेपालसँगको कूटनीतिक महत्वलाई उच्च प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ