दमौली (तनहुँ), १९ असोजः तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा सात दशमलव दुई कलोमिटर सडक कालोपत्र, १० किलोमिटर ग्रावेल र नौ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ ।
गाउँपालिकाले सडक, पुल, खानेपानी तथा सिँचाइ, नदी नियन्त्रण, पार्कलगायत भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । पछिल्लो एक वर्षमा मात्रै गाउँपालिकाभित्र चार वटा पार्क निर्माण भएका छन् भने सात किलोमिटर ढल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
यस अवधिमा एक किमी नदी नियन्त्रण, छ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार र तीन वटा पोखरी निर्माण गरिएको छ । त्यस्तै एउटा नयाँ विद्यालय भवन र चार वटा प्रतीक्षालय निर्माण गरिएको छ । सामुदायिक पूर्वाधारतर्फ चार वटा सामुदायिक वनसम्बन्धी काम भएको थापाले बताउनुभयो ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि हालसम्म बन्दीपुर गाउँपालिकामा ३७ दशमलव दुई किमी सडक कालोपत्र भएको छ । त्यस्तै ७० किमी सडक ग्रावेल र ७९ किमी नयाँ सडकको ट्रयाक खोलिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले नयाँ ट्रयाक खोल्ने, पुराना सडक स्तरोन्नति गर्ने र आवश्यकता तथा प्राथमिकताका आधारमा कालोपत्र गर्ने कामलाई निरन्तरता दिइएको थापाको भनाइ छ ।
सडकसँगै यातायात आवागमन सहज बनाउन गाउँपालिकाले पुल निर्माणलाई प्राथमिकता दिएको छ । हालसम्म २५ वटा मोटरेबल पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएको गाउँपालिकाले जनाएको छ । यसबाट सडक सञ्जाल पुगेका स्थानमा खोलानाला तथा नदीका कारण हुने आवागमनको समस्या न्यूनीकरण भएको थापाले उल्लेख गर्नुभयो ।
बन्दीपुर गाउँपालिकाले पूर्वाधार विकाससँगै सार्वजनिक तथा पर्यटकीय क्षेत्रको सौन्दर्यीकरणलाई प्राथमिकता दिएको छ । हालसम्म ४९ वटा पार्क निर्माण गरिएको छ । वर्षाको पानी तथा घरबाट निस्कने फोहोर पानीको व्यवस्थापनका लागि ७८ किमी ढल निर्माण गरिएको छ । बाढी तथा कटानको जोखिम न्यूनीकरणका लागि पाँच किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
कृषि उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले सिँचाइ पूर्वाधार निर्माणमा पनि लगानी गरेको छ । हालसम्म एक हजार ८६२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
कृषियोग्य जमिनमा सिँचाइको पहुँच विस्तार भएपछि वर्षामा मात्र निर्भर हुनुपर्ने अवस्थालाई कम गर्न सहयोग पुगेको गाउँपालिकाको अपेक्षा छ । पछिल्लो एक वर्षमा मात्रै थप छ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।
गाउँपालिकाले जलस्रोत संरक्षण तथा स्थानीय पूर्वाधार विकासअन्तर्गत हालसम्म छ वटा ताल निर्माण तथा संरक्षणसम्बन्धी काम गरेको जनाएको छ । पछिल्लो एक वर्षमा तीन वटा पोखरी निर्माण गरिएको छ ।
फोहर व्यवस्थापनका लागि गाउँपालिकामा एउटा डम्पिङ साइट र एउटा स्यानिटरी ल्याण्डफिल्ड निर्माण गरिएको छ । बढ्दो बस्ती तथा पर्यटकीय गतिविधिसँगै उत्पादन हुने फोहरको व्यवस्थित व्यवस्थापनका लागि यी संरचना निर्माण गरिएको थापाको भनाइ छ ।
गाउँपालिकाले सडक तथा भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यका आधारभूत संरचना निर्माणलाई पनि प्राथमिकता दिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि हालसम्म छ वटा विद्यालय भवन र सात वटा स्वास्थ्य चौकी निर्माण गरिएको छ ।
त्यस्तै गाउँपालिकाका विभिन्न स्थानमा ५४ वटा प्रतीक्षालय निर्माण भएका छन् । स्थानीय समुदायका कार्यक्रम तथा सामाजिक गतिविधिका लागि आवश्यक ७४ वटा सामुदायिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष थापाले गाउँपालिकाले उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका क्षेत्रमा परिचालन गर्दै पूर्वाधार निर्माणलाई विकासको आधारका रूपमा अघि बढाएको बताउनुभयो । उहाँका अनुसार सडक, पुल, सिँचाइ, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य र सार्वजनिक संरचनाको विकासले स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउने मात्र नभई आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्याउनेछ ।
बन्दीपुर पर्यटकीय क्षेत्रका रूपमा परिचित भएकाले सडक, पार्क, प्रतीक्षालयलगायतका पूर्वाधार निर्माणले पर्यटन गतिविधिलाई सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ ।