१६ असोज, २०८३ (२ अक्टोबर, २०२६)
काठमाडौँ। इरानमाथि पुनः ठूलो सैन्य कारबाही हुनसक्ने आकलनबीच अमेरिकाले मध्यपूर्वी क्षेत्रमा युद्धपोत, लडाकु विमान, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र सैनिकको तैनाथी व्यापक रूपमा बढाएको छ। क्यालिफोर्नियाको सान डियागोबाट ‘यूएसएस थियोडोर रुजवेल्ट’ विमानवाहक युद्धपोत र ‘मकिन आइल्याण्ड’ एम्फिबियस रेडी ग्रुपसहित करिब ९ हजार अमेरिकी सेना मध्यपूर्वतर्फ प्रस्थान गरेका छन्। यस नयाँ तैनाथीसँगै मध्यपूर्वमा अमेरिकी सैनिकको संख्या ५० हजार नाघ्नेछ भने क्षेत्रमा एकैपटक तीनवटा विमानवाहक युद्ध समूह र सयौँ एफ-३५ लडाकु विमान तैनाथ हुनेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘टाइम म्यागजिन’ सँगको अन्तर्वार्तामा नोभेम्बर ३ को अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः ठूलो बमबारी हुन सक्ने सङ्केत दिनुभएको छ। इरानले स्ट्रेट अफ होर्मुज खोल्ने गरी अघि सारेको युद्धविराम प्रस्ताव अस्वीकार गर्दै ट्रम्पले इरानी आक्रमणबाट खाडी क्षेत्रका तेल तथा ग्यास पूर्वाधार जोगाउन साउदी अरब र कतारमा थप प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली समेत पठाउनुभएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले राष्ट्रपतिबाट आदेश आए सेना नयाँ कारबाहीका लागि पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ।
अहिले क्षेत्रमा यूएसएस जर्ज एच.डब्ल्यू बुस र यूएसएस जर्ज वासिङ्टन युद्धपोतहरू पहिले नै तैनाथ छन्। कूटनीतिक वार्ताको ढोका खुल्ला राखिए पनि सम्झौता भए पनि तैनाथ गरिएका सैन्य स्रोतहरू फिर्ता नहुने अमेरिकी रक्षा मन्त्रालयले स्पष्ट पारेको छ, जसले इरानविरुद्ध कडा सैन्य विकल्प खुला राख्ने अमेरिकी रणनीतिलाई स्पष्ट पार्दछ।