संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

  • सोमवार, अशोज १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 969
    SHARES

काठमाडौँ, १२ असोजः प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले आगामी महान् चाड बडादसैँ, दिपावली, छठलगायत चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित तुल्याउन सरोकार निकायलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा भएको छलफलपछि प्राप्त सुझाव, सल्लाह र रचनात्मक विचारका आधारमा उक्त निर्देशन दिइएको सभापति आशीष गजुरेलले जानकारी दिनुभयो ।

दसैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन परिचालन गरी निर्धारित बसपार्कबाट सवारी सञ्चालन, तोकिएको स्थानबाट टिकट बिक्री तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने–ओराल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको उहाँले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामैत्री सेवा, यात्रु सहायता कक्ष तथा आवश्यक सहजीकरणको व्यवस्था गर्न समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

चाडपर्वमा हुने यात्राको चापलाई ध्यानमा राखी सडकको अवस्था तथा सम्भावित जोखिमको पूर्वमूल्याङ्कन, वैकल्पिक मार्गको तयारी, सवारीसाधनको प्राविधिक परीक्षण, चालकको पर्याप्त विश्राम तथा गति नियन्त्रण सुनिश्चित गर्न समितिले सरोकार निकायको ध्यानाकर्षण गराएको छ ।

बैठकले क्षमताभन्दा बढी यात्रु राख्ने कार्य नियन्त्रण गर्दै एकीकृत बसपार्क नीतिको प्रभावकारी कार्यान्वयन तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय कायम गर्न पनि निर्देशन दिएको छ ।

यात्रुले टिकट नपाउने, तोकिएकोभन्दा बढी भाडा तिर्नुपर्ने, टिकटमा अनियमितता वा ठगी व्यहोर्नुपर्ने अवस्था आउन नदिने गरी सहज रूपमा टिकट पाउन, भाडादरको प्रभावकारी कार्यान्वयन र गुनासो सुनुवाइको बलियो व्यवस्थासहितको तत्काल कार्ययोजना तयार गरी लागू गर्न समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले २०८३ को दसैँ, तिहार तथा छठ लगायतका चाडपर्वहरूमा सार्वजनिक यातायातलाई सरल, सहज, व्यवस्थित र मर्यादित बनाउन यसअघि गठन गरिएको उपसमितिमा सांसद राजुनाथ पाण्डेलाई सदस्यका रूपमा चयन गर्ने निर्णय गरेको छ ।

सडक यात्राका क्रममा यात्रुले खानेपानी, खाजा, खानालगायतका उपभोग्य वस्तुको मूल्य र गुणस्तर समेतमा ठगी हुन नदिन पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी