हिमालयको रौद्र रूप: लाङटाङको हिमनदी विस्फोटले निम्त्याएको विपद् र हामीले सिक्नुपर्ने पाठ

हिमालयको रौद्र रूप: लाङटाङको हिमनदी विस्फोटले निम्त्याएको विपद् र हामीले सिक्नुपर्ने पाठ

  • शनिबार, भदौ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

लाङटाङ हिमाली क्षेत्रको हिमनदी पग्लेर हिमपहिरो खस्दा नेपालको भोटेकोशी (रसुवातर्फ बग्ने) हुँदै त्रिशुली नदीमा मिसिएर ठूलो बाढीको रूपलिई रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन जिल्लाहरूमा खोला किनारमा रहेका बजार, बस्ती र गाउँहरू अधिकांश बगाएको छ। बाढी नेपाल-चीन नाका रहेको केरुङमा निस्किएर केरुङ, रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी सम्पूर्ण रूपमा बगाएको छ। नुवाकोटको बेत्रावती, त्रिशुली बजार, देवीघाट हुँदै धादिङको गजुरी, गल्छी समेत तहस नहस पारेको छ।
यो महाप्रलयकारी बाढीमा परी हजारौँ हताहत, हजारौँ बेपत्ता र खर्बौँको धनमालको नोक्सानी भएको छ। करिब १००० वर्षयता नआएको भीषण बाढी यसपटक आएको छ। नेपालको लागि अकल्पनीय क्षतिको वाहक बनेर आएको यो बाढी सम्बन्धी धेरैका धेरै विश्लेषण छन्।
नेपालका हिमाल नेपाल र विश्व जलवायुकै लागि महत्त्वपूर्ण हिमभण्डार हो। यद्यपि यसको विनाश मानवका लागि महाकाल पनि हो। हिमालयको रौद्र रूप नदेखेका र सुन्दरताको बखान मात्रै सुनेकाहरूको लागि त यो सपना जस्तै भएको छ।
प्रलयकारी बाढीका विषयमा धेरै विज्ञहरूको अभिमत जलवायु परिवर्तन हो भन्ने नै छ। भूमण्डलीय तापक्रम वृद्धि (Global Warming) ले निम्त्याएको विपद् हो भन्नेमा करिब करिब एक मत जस्तै छ। यद्यपि भौगर्भिक चाल (Plate Tectonic) पनि यसको अर्को कारण हुनसक्छ। किनकी Indian Plate तिब्बतीयन Plate मुनि घुसीरहेको (Sub-ducting)भन्ने वैज्ञानिकहरूको भनाइ र लगातार हिमालयका चुचुराहरूको उचाई बढ्नुले पुष्टि गर्दछन्।
जे होस्, यो हाम्रो हातमा नभएकोले यसमा हामी केही गर्न सक्दैनौँ, तर Global Warming केही हदसम्म बढाउने वा घटाउने कुरा हाम्रो (मानवको) हातमा भएकोले यो चाहीँ गर्न सकिन्छ।

धेरैले नबुझेको विज्ञान यो Global warming भनेको के हो?
‘Global Warming’ यो शब्द सर्वप्रथम Wallace Broeker भन्ने भू-रसायन शास्त्रीले प्रयोग गरेका थिए सन् १९७५ मा। यो शब्दले पृथ्वीको बढ्दो तापक्रमलाई इंगित गर्दछ। तापक्रम वृद्धि कसरी हुन्छ भन्ने बारेमा अध्ययन हुँदा पृथ्वीबाट उत्सर्जन हुने कार्बन डाइअक्साइड (CO_2) लगायतका हरितगृह ग्याँसहरु वायुमण्डलमा मिसिएर एउटा बाक्लो तह बनाउँछन । सूर्यबाट आउने ताप पृथ्वीमा ठोक्किएर फर्किँदा तिनै हरितगृह ग्याँसहरुका कणहरूले शोषेर राख्छन् र हरितगृह ग्याँसहरुको तह वायुमण्डलमा जति बाक्लो हुँदैजान्छ, त्यति नै न्यानोपना (Blanket Effect) बढ्न जान्छ र गर्मी बढेको महसुस हुन्छ।
उसो त यो प्रकृयामा CO_2 मात्र दोषी छैन, समग्रमा Greenhouse Gases (GHG) को उत्सर्जन बढि हुँदा यो समस्या देखिने हुन्छ। हरित गृह ग्यास (GHG) कार्बन डाई अक्साईड (CO_2), बाफ (H_2O) , मिथेन (CH_4), नाइट्रस अक्साइड (N_2O), हाइड्रोफ्लोरो कार्बन आदिको बढि उत्सर्जनले पृथ्वीबाट अन्तरिक्षमा फर्किएका तापयुक्त रेडियो-तरंग (Radio wave) हरूलाई कब्जा (Trap) गर्दछन् र वायुमण्डल तताउँदछन्। यी ग्यासहरू मानिसले उत्पादन गर्ने प्रदूषण, उद्योगधन्दा, कलकारखाना, यातायात, जैविक इन्धनको प्रयोग आदिबाट उत्सर्जन (वायुमण्डलमा मिसिने) हुन्छ। हो, यसैलाई कम गर्न हरेक जलवायु सम्मेलनमा (COP) कुरा उठ्छ, तर विकसित राष्ट्रहरूले बेवास्ता गरिदिन्छन्, कुरा कुरामै सीमित हुन्छ।

विश्व समुदायमा एउटा सहमति पनि भएको छ, GHG उत्सर्जन गर्ने विकसित राष्ट्रले, GHG उत्सर्जन नगर्ने तर यसको प्रत्यक्ष मार भोगीरहेका अति कम विकसित राष्ट्रलाई क्षतिपूर्ति दिनुपर्दछ भन्ने जलवायु न्याय (Climate Justice) को कुरामा। यसमा सबैभन्दा बढी उत्सर्जनकर्ता चीन,अमेरिका र भारत हुन। यी मुलुक र बिशेष गरि अमेरिका Global Warming का कारण Climate Change भएको कुरा स्विकार्दैन । तर जलवायु न्यायका लागि लड्दा हामी जस्तै पीडित थुप्रै मुलुकहरूको साथ पाउने सम्भावना रहन्छ। त्यसैले अब नेपाल जस्तो मुलुकले त्यसको सकृय नेतृत्व गर्नुपर्छ र मान्न बाध्य गराउनु पर्छ ।
विश्व मञ्चमा नेपालले केही समय अघि देखि यो आवाज उठाएको भएपनि आगामी दिनमा अझै जोडदार ढंगले उठाउन जरुरी छ।
​ यो त भयो विश्व समुदाय माझ नेपालले खेल्नु पर्ने भूमिका। आफ्नो आन्तरिक तयारी चाँहि के के गर्नु पर्ला?

​संसारका सबै सभ्यता नदी किनारबाटै सुरु भएका हुन्। खेतीपाती, सिँचाई, बाटाघाटा, धारापँधेरो, बस्ती हरेक हिसाबले नदीकिनार सहज मानिन्छ। त्यसैले नदी किनारमा बस्दै नबस्ने भन्ने हुँदैन। तथापि हिमालय क्षेत्रमा मुहान भएका नदी तटमा बसोबास गर्ने मानिसहरू अबका दिनमा निकै सतर्क हुनुपर्ने देखिन्छ। भू-उपग्रह मार्फत हिमालय क्षेत्रको नियमित अनुगमन, प्रभावकारी बाढी पूर्व सूचना प्रणालीको जडान, बस्तीहरूबाट सुरक्षित स्थान तर्फका पहुँच सडकहरू निर्माण, बलिया भौतिक संरचना र विद्युत, सञ्चार, स्वास्थ्य, शिक्षा सहितका एकीकृत सुरक्षित बस्तीहरूको निर्माणमा जोड दिनु पर्छ।
​विपद् व्यवस्थापनका लागि हरेक पल्टनमा एक गुल्म कम्तिमा विपद्-सेनाको तैनाथी हुनु पर्छ। बर्षाद्को समयमा सरकारले उद्धार र राहतका पूर्व तयारी गर्नुपर्ने देखिन्छ।

​दुर्घटना हुन्छन् तर यस किसिमका महाविपत्ति कुनै कुनै कालखण्डमा मात्र आउने हुन्। आगामी दिनमा यी र यस्तै विपत्ती छिटो छिटो दोहोरिन पनि सक्छन्। तसर्थ राज्य तत्कालिन र दीर्घकालीन सोचमा योजनाबद्ध रूपले चलायमान हुनु पर्छ। आफूले नखाएको विष लाग्न नदिन विश्वमञ्चमा पनि दरोसँग उभिनु पर्छ र आफ्नो हक माग्न सक्नु पर्छ।
गोविन्द दहाल,
महासचिव, नेपाल वन प्राविधिक संघ
मिति: २०८३/०५/२० (कृष्णजन्माष्टमी)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी