हवाई प्रतिबन्धबारे सम्बन्धित देशसँग इरानको निरन्तर संवाद

हवाई प्रतिबन्धबारे सम्बन्धित देशसँग इरानको निरन्तर संवाद

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 798
    SHARES

इरानले हालै लगाइएको हवाई प्रतिबन्धको विषयमा सैन्य प्रतिकारात्मक कदम चाल्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) को सचिवालयले शनिबार जारी गरेको विज्ञप्तिमा हवाई यातायातसम्बन्धी विषयमा परिषद्का सचिव मोहसेन रेजाईका पछिल्ला भनाइलाई केही स्थानमा फरक अर्थमा प्रस्तुत गरिएको जनाएको छ । यसबाट इरानको सम्भावित प्रतिक्रियाबारे विभिन्न प्रश्न उठेपछि परिषद्ले आफ्नो धारणा स्पष्ट पारेको हो ।

परिषद्ले हवाई प्रतिबन्धको जवाफमा इरानले सैन्य कारबाही गर्ने भन्ने दाबी सही नभएको जनाएको छ । साथै, आफूले अनुचित ठानेका केही हवाई प्रतिबन्ध हटाउन सम्बन्धित देशहरूसँग गम्भीर र निरन्तर संवाद भइरहेको जानकारी दिएको छ ।

परिषद्का अनुसार, प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्ने पक्षसँग सम्बन्धित विषयमा आवश्यक परे गैरसैन्य माध्यमबाट प्रतिक्रिया जनाउने विकल्पहरू पनि उपलब्ध छन् । यद्यपि, त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने इरानको अपेक्षा रहेको परिषद्ले जनाएको छ ।

यसअघि अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले बुधबारदेखि विश्वभरका इरानी एयरलाइन्सलाई बन्द गराउने बताउनुभएको थियो उहाँले इरानी विमानलाई इन्धन, अवतरणसम्बन्धी सेवा वा टिकट बिक्रीलगायतका सेवा उपलब्ध गराउने कम्पनीमाथि समेत अमेरिकी प्रतिबन्ध लागू हुन सक्ने बताउनुभएको थियो ।

अमेरिकी प्रतिबन्ध कार्यान्वयनमा आएपछि बुधबार इरानको सरकारी टेलिभिजन आईआरआईबीसँग कुरा गर्दै रेजाईले विशेषगरी इरानका छिमेकी देशहरूलाई उक्त प्रतिबन्ध कार्यान्वयनमा सहभागी नहुन आग्रह गर्नुभएको थियो ।

इरानी पक्षले पछिल्लो स्पष्टोक्तिमार्फत हवाई प्रतिबन्धको विषयमा सम्बन्धित देशहरूसँग संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रयासलाई निरन्तरता दिइरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ