Mirmire Online

Advertisment

SKIP THIS

राष्ट्रियसभा बैठक : चाडपर्वमा खाद्य आपूर्ति सहज बनाउन र जनचाहना अनुसार काम गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा बैठक : चाडपर्वमा खाद्य आपूर्ति सहज बनाउन र जनचाहना अनुसार काम गर्न सरकारको ध्यानाकर्षण

  • बिहिबार, अशोज ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

काठमाडौँ, ८ असोज : राष्ट्रिय सभाको बैठकमा सांसदहरूले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै बजारमा खाद्यान्नको आपूर्ति सहज बनाउन र कालोबजारी अन्त्य गर्न सरकारसँग जोडदार माग गरेका छन्। आजको बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले सुशासन, जनअपेक्षा तथा विभिन्न समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद खम्मबहादुर खातीले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले जनताको चाहनाअनुसार नयाँ सोच र तरिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नागरिकले अझै पनि सरकारी निकायमा झन्झटिलो प्रक्रिया भोग्नुपरेको गुनासो गर्दै सुशासन भाषणमा मात्र सीमित भएको र कानुन सबैका लागि समान हुनुपर्ने स्पष्ट पार्नुभयो। साथै, भोटेकोशी बाढी विपद् व्यवस्थापनका लागि प्रतिनिधिसभामा गठन भएको विशेष समितिमा राष्ट्रियसभाको पनि प्रतिनिधित्व हुनुपर्ने उहाँको माग थियो।

त्यसपछि शून्य समयमा बोल्दै सांसद सोनाम गेल्जेन शेर्पाले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्नको कृत्रिम अभाव हुन सक्नेतर्फ सचेत गराउँदै आपूर्ति सहज बनाउन, बजार अनुगमन प्रभावकारी पार्न र कालोबजारी अन्त्य गरी जनतालाई राहत दिन सरकारसँग आग्रह गर्नुभयो।

बैठकमा क्रमबद्ध रूपमा आफ्ना भनाइ राख्दै अन्य सांसदहरूले पनि समसामयिक विषयहरू उठाएका छन्। सांसद भुवनबहादुर सुनारले ग्रेजोन मिडियामा नेपालसम्बन्धी आएको समाचारबारे स्पष्ट पार्न माग गर्नुभयो भने, सांसद मदनकुमारी शाह (गरिमा)ले जापानका लागि राजदूत सिफारिस हुनुभएका व्यक्तिको ‘पिआर’ रहेको भन्ने सार्वजनिक समाचारको सत्यतथ्य जानकारी दिन आग्रह गर्नुभयो।

त्यसैगरी, सांसद युवराज शर्माले शिक्षा, स्वास्थ्य, व्यापार र जनताको सुरक्षामा प्रभावकारी ढङ्गले काम गर्न सरकारलाई सुझाव दिनुभयो। सांसद राजेन्द्र लक्ष्मी गैरेले त्रिपुरेश्वर चोकमा चालकसँग भएको विवाद र चालकको आत्मदाहको घटनाप्रति दुःख व्यक्त गर्दै राज्यका निकायले संवादबाट समस्या समाधान गर्नुपर्नेमा त्यसो नभएको भन्दै आपत्ति जनाउनुभयो। बैठकमा आफ्नो भनाइ राख्दै सांसद सरेशकुमार आलेमगरले भोटेकोशीको बाढी जलवायु परिवर्तनको असर भएको बताउँदै अनुकूलनका क्षेत्रमा स्थानीय आदिवासी तथा जनजातिको सिप र अनुभवलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी