Mirmire Online

Advertisment

SKIP THIS

बाढी प्रभावित क्षेत्रमा आपत्कालीन उपचार कार्य अघि बढाइएको छः मन्त्री मेहता

बाढी प्रभावित क्षेत्रमा आपत्कालीन उपचार कार्य अघि बढाइएको छः मन्त्री मेहता

  • बिहिबार, अशोज ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

काठमाडौँ, ८ असोजः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गत महिना गएको भोटेकोशी प्रलयकारी बाढीपछि मन्त्रालयले आपत्कालीन उपचार तथा प्रतिकार्यका विभिन्न क्रियाकलाप गर्नाका साथै बहुपक्षीय तयारी र कार्यहरू पनि अघि बढाएको बताउनुभएको छ ।

राष्ट्रिय सभामा आज मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिँदै उहाँले घाइतेहरूको उपचार तथा दुर्गम र सडक सम्पर्कविच्छेद भएका क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउनेतर्फ मन्त्रालयले तत्कालै आवश्यक व्यवस्था मिलाएको बताउनुभयो । बाढीका कारण प्रभावित स्वास्थ्य संस्थाहरूको सेवा अवरुद्ध हुन नदिन आपत्कालीन स्वास्थ्य टेन्ट तथा वैकल्पिक संरचनामार्फत सेवा निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।

“घाइते तथा बिरामीको तत्काल उपचार र उद्धारका लागि केन्द्रीय तथा प्रादेशिकस्तरका आकस्मिक चिकित्सकीय टोली परिचालन गरिएका छन् । सडक सम्पर्कविच्छेद भएका तथा दुर्गम बस्तीमा चिकित्सक, स्वास्थ्यकर्मी र अत्यावश्यक औषधि पु¥याउन घुम्ती स्वास्थ्य टोली खटाइएको छ भने यातायात अवरुद्ध भएका क्षेत्रमा हेलिकप्टरमार्फत औषधि, शल्यक्रिया सामग्री तथा आवश्यक उपकरण आपूर्ति गरिएको छ । स्थानीय प्रशासनसँगको समन्वयमा गम्भीर घाइते तथा बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याई उपचार व्यवस्थापन गरिएको छ,” मन्त्री मेहताले भन्नुभयो ।

जोखिममा रहेका गर्भवती तथा सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सुरक्षालाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रमा गर्भवती तथा सुत्केरीको नियमित स्वास्थ्य परीक्षण, जटिल अवस्थाका बिरामीलाई तत्काल रेफर तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।”

मन्त्री मेहताले थप परिचालित विशेषज्ञ टोलीले मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेका र दीर्घरोगी तथा ज्येष्ठ नागरिकको नियमित उपचार र औषधि सेवनमा अवरोध नहोस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रमा नसर्ने रोगका औषधि निःशुल्क उपलब्ध गराइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्षयरोग तथा एचआइभी सङ्क्रमित सेवाग्राहीको उपचारमा पनि निरन्तरता कायम गरिएको छ । बाढी प्रभावित तीनवटै जिल्लासँग समन्वय गरी प्रदेश आपूर्ति केन्द्र तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमार्फत क्षयरोगका बिरामीका लागि आवश्यक औषधि आपूर्ति गरिएको छ ।”

मिर्गाैला रोगीको नियमित हेमोडायलाइसिस सेवा अवरुद्ध हुन नदिन पनि मन्त्रालयले विशेष समन्वय गरिरहेको अवगत गराउँदै मन्त्री मेहताले नुवाकोटको त्रिशूली अस्पतालमा विपन्न नागरिक औषधि उपचार सेवा कार्यक्रमअन्तर्गत सूचीकृत २३ मिर्गाैला रोगीमध्ये २० जनाले नियमित रूपमा त्रिशूली अस्पतालबाट हेमोडायलाइसिस सेवा लिइरहेका बताउनुभयो ।

बाढीबाट सिर्जित त्रास, तनाव तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई सम्बोधन गर्न प्रभावित क्षेत्रमा मनोसामाजिक प्राथमिक उपचार, मनोपरामर्श तथा मानसिक स्वास्थ्य सेवा पनि प्राथमिकताका साथ सञ्चालन गरिएको मन्त्री मेहताले बताउनुभयो । “हाल करिब ९० जना मनोसामाजिक स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा परिचालित छन् र हालसम्म प्रभावित तथा जोखिममा रहेका व्यक्तिलाई १२ हजार ९६९ पटक मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ,” उहाँले भन्नुभयो ।

मन्त्री मेहताले बाढी प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि सहायता कक्ष स्थापना गरी २२० भन्दा बढी सहायक उपकरण वितरण गरिएको जानकारी गराउनुभयो । त्यस्तै, महामारी तथा सङ्क्रामक रोगको जोखिम नियन्त्रणका लागि बाढी प्रभावित क्षेत्रमा निगरानी र रोकथामका कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

“इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत दैनिक रोग निगरानी भइरहेको छ । पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि पियुष तथा क्लोरिन ट्याब्लेट वितरण गर्नाका साथै प्रभावित क्षेत्रमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ,” मन्त्री मेहताले भन्नुभयो ।

नियमित खोप तथा पोषण सेवाको निरन्तरतासमेत सुनिश्चित गरिएको बताउँदै उहाँले प्रभावित जिल्लामा नियमित खोप कार्यक्रम तालिकाअनुसार सञ्चालन भइरहेको जानकारी दिनुभयो । साथै मन्त्री मेहताले प्रत्येक होल्डिङ सेन्टरमा स्वास्थ्यसम्बन्धी समस्या पहिचान, प्राथमिक उपचार तथा आवश्यक स्वास्थ्य सेवा र औषधिको निरन्तर पहुँच सुनिश्चित गर्न स्वास्थ्यकर्मी खटाइएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी