Mirmire Online

Advertisment

SKIP THIS

भोटेकाशी बाढी प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको महिलामन्त्री वादीव्दारा सदनलाई जानकारी

भोटेकाशी बाढी प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको महिलामन्त्री वादीव्दारा सदनलाई जानकारी

  • बिहिबार, अशोज ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

काठमाडौँ, ८ असोजः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकाशी बाढीबाट प्रभावित भई विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले बालबालिकाहरुको खोजी, उद्धार, संरक्षण र अभिभावक खोजी तथा पारिवारिक पुनर्मिलनलाई विशेष प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो ।

“प्रभावित १५ स्थानीय तहमा बाल संरक्षणसम्बन्धी समन्वय संयन्त्र गठन गरी सूचना सङ्कलन, उद्धार तथा संरक्षणको कार्य भइरहेको छ र बालबालिकाका लागि ४० स्थानमा बालमैत्री केन्द्र सञ्चालन गरिएको छ”, मन्त्री बादीले भन्नुभयो ।

उहाँले विशेष संरक्षणको आवश्यकताभएका आमाबुवा गुमाएका, अपाङ्गता भएका, दुर्गम तथा सामाजिक, आर्थिक रूपमा पछाडि परेका बालबालिकाको संरक्षणलाई सरकारले विशेष जिम्मेवारीका रूपमा लिएको बताउनुभयो ।

“ललितपुरको गोदावारी नगरपालिका–१२ ठेचोमा उद्धार गरी ल्याइएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पारिवारिक पुनर्मिलन लगायत सेवा उपलब्ध गराउने गरी अस्थायी संरक्षण सेवा सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री बादीले बाढीबाट अभिभावक बेपत्ता भएका वा गुमाएका बालबालिकालाई १८ वर्ष नपुग्दासम्म उचित संरक्षण, स्याहार, पोषण, स्वास्थ्य उपचार, कम्तीमा १२ वर्षसम्मको शिक्षा तथा सामाजिक सुरक्षाको व्यवस्था गर्ने गरी दीर्घकालीन स्याहार योजना अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय बाल अधिकार परिषद्मार्फत विस्तृत लेखाजोखा गर्ने काम स्थलगत रूपमा तीव्र पारिएको स्पष्ट पार्नुभयो । मन्त्री बादीले प्रभावित क्षेत्रमा कुनै बालबालिका समस्यामा परेको देखिएमा वा राष्ट्रिय बाल अधिकार परिषद्मार्फत जानकारी अनुरोध गर्नुभयो ।

“विपद्को समयमा सरकारको मात्र प्रयासले पर्याप्त हुँदैन । हामी सबैको समन्वय र सहकार्यमा मात्रै प्रभावित बालबालिकाको संरक्षण प्रभावकारी बनाउन सकिन्छ”, मन्त्री बादीले भन्नुभयो ।

बालबालिकाको संरक्षण र शिक्षाको नाममा समेत अनाधिकृत रूपमा बालबालिकाको ओसारपसार तथा स्थानान्तरण गर्न नपाइने व्यवस्था स्पष्ट गरिएको जानकारी दिँदै उहाँले राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहको बाल कल्याण अधिकारीको सिफारिसबिना बालबालिकाको ओसारपसार तथा स्थानान्तरण गैरकानूनी हुने विषयमा सरकार स्पष्ट रहेको बताउनुभयो ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षणको सन्दर्भमा, विपद्बाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार, सहायक सामग्री तथा पुनस्थापनाका लागि सम्बन्धित आश्रम, स्थानीय तह र सेवाप्रदायक संस्थासँग समन्वय गरिएको उहाँले बताउनुभयो ।

नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री तथा मनोसामाजिक परामर्श उपलब्ध गराइएको छ ।

मन्त्री बादीले गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुको उद्धारको सन्दर्भमा, सडक तथा यातायात सम्पर्क अवरुद्ध भएका क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको बताउनभयो । उहाँका अनुसार हालसम्म ११ जना जटिल प्रसूति अवस्थामा महिला र नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

बाढी प्रभावित महिला वा किशोरीका लागि नुवाकोट र धादिङमा १० वटा महिला तथा किशोरीमैत्री सुरक्षितस्थल स्थापना गरिएको जानकारी दिँदै मन्त्री बादीले बूढानीलकण्ठमा विपद्बाट प्रभावित तथा जोखिममा रहेका महिलाको संरक्षण, सुरक्षा र आवश्यकताअनुसार अस्थायी आश्रयको व्यवस्था सुनिश्चित गरिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी