विश्वका प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीका अधिकारीहरूले अत्याधुनिक एआई विकासको गति घटाउनुपर्ने आवाज उठाइरहेका बेला चीनले भने उक्त प्रस्तावप्रति गम्भीर संशय व्यक्त गरेको छ। अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईले एआईको सुरक्षाका उपायभन्दा यसको क्षमता तीव्र गतिमा बढेकाले नयाँ र शक्तिशाली मोडल बनाउने गति केही समयका लागि घटाउन र अन्तर्राष्ट्रिय नियम बनाउन प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई ओपनएआईका साम अल्टम्यान, इलन मस्क र गुगल डिपमाइन्डका डेमिस हासाबिसले समर्थन गरे पनि चिनियाँ पक्षले यसलाई भूराजनीतिक स्वार्थ प्रेरित कदम भनेको छ।
अमोडेईले गति घटाउने प्रस्तावसँगै चीनमाथि शक्तिशाली एआई चिप बिक्रीमा थप कडाइ गर्नुपर्ने र चिनियाँ कम्पनीहरूले अमेरिकी मोडलको क्षमता नक्कल गर्ने ‘मोडल डिस्टिलेसन’ रोक्नुपर्ने सर्त राखेपछि चीन थप सशङ्कित बनेको हो। चीनको सरकारसमर्थित अंग्रेजी समाचारपत्र ‘ग्लोबल टाइम्स’ ले यस प्रस्तावलाई एआई क्षेत्रमा चिनियाँ प्रगति रोक्ने ‘शीतयुद्धको रणनीति’ को संज्ञा दिएको छ। यस्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले खतरा देखाएर भय सिर्जना गर्ने र अनुचित प्रतिस्पर्धा गर्ने प्रयासले विश्वव्यापी एआई शासन प्रक्रियामा अवरोध पुर्याउने बताएका छन्।
यद्यपि, चीनले एआईको दुरुपयोगबाट हुन सक्ने राष्ट्रिय सुरक्षा जोखिमलाई भने स्वीकारेको छ। चिनियाँ राज्य सुरक्षा मन्त्री छन यिसिनले डिपफेक, भ्रामक सामग्री र अनलाइन अभियानले राजनीतिक तथा सामाजिक स्थिरताका साथै सूचना सुरक्षामा खतरा पुर्याउने चेतावनी दिएका छन्। साथै चीनले ‘आर्टिफिसियल इन्टेलिजेन्स सेक्युरिटी गभर्नेन्स फ्रेमवर्क ३.०’ समेत सार्वजनिक गरेको छ।
अमेरिकाले एआईको गति नियन्त्रण गर्न चीन बाधक रहेको बताउने र चीनले सुरक्षाको नाममा अमेरिकाले आफ्नो प्राविधिक विकास रोक्न खोजेको आरोप लगाउने अवस्थाले दुवै देशबीच साझा अविश्वास कायम रहेको देखाउँछ। आगामी सेप्टेम्बर २४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने भेटवार्तामा एआई सुरक्षा प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिए पनि दुवै देशबीच ठोस साझा अनुगमन प्रणाली र विश्वासको अभाव नै एआईको तीव्र गतिभन्दा ठूलो खतरा बन्ने विश्लेषण गरिएको छ।