इरानको नातान्ज आणविक परिसरभन्दा करिब १४० माइल दक्षिणमा रहेको ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) स्थित भूमिगत केन्द्रमा निर्माण गतिविधि अत्यधिक तीव्र भएको अमेरिकी थिंक ट्याङ्क सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (CSIS) को पछिल्लो स्याटेलाइट विश्लेषणले देखाएको छ। विशाल ग्रेनाइट पहाडको गहिराइमा निर्माण भइरहेको उक्त संरचनालाई अमेरिकी र इजरायली गुप्तचर निकायहरूले इरानको संवेदनशील आणविक कार्यक्रम जोगाउने भूमिगत अखडाका रूपमा हेरिरहेका छन्।
CSIS का अनुसार सन् २०२६ मा उक्त क्षेत्रमा सुरुङका प्रवेशद्वार सुदृढ गर्ने, पक्की सडक निर्माण गर्ने, सुरक्षा बढाउने र उत्खनन गरिएको माटो हटाउने कार्य अघिल्ला वर्षहरूको तुलनामा धेरै तीव्र भएको छ। यो केन्द्र सेन्ट्रिफ्युज संयोजन, युरेनियम संवर्धन वा आणविक हतियार विकासका लागि प्रयोग हुन सक्ने अनुमान गरिए पनि हाल निरन्तर भइरहेको निर्माणले यो अझै पूर्ण सञ्चालनमा नआइसकेको सङ्केत गर्छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पिकएक्स माउन्टेनमा ‘चाँडै’ सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्। तर, अत्यधिक गहिराइमा रहेको यो ग्रेनाइट संरचनामाथि प्रहार गर्न अमेरिकी सेनासँग रहेका विद्यमान ‘बंकर बस्टर’ (MOP) बमहरू समेत अपर्याप्त हुनसक्ने चिन्ता व्यक्त गरिएको छ। सन् २०२५ मा इरानका आणविक केन्द्रहरूमाथि अमेरिकाले चलाएको ‘अपरेसन मिडनाइट ह्यामर’ (Operation Midnight Hammer) पछि पनि इस्फहानको गहिरो संरचना पूर्ण नष्ट हुन नसकेपछि अमेरिकाले ‘नेक्स्ट जेनेरेसन पेनेट्रेटर’ विकासका साथै न्यु मेक्सिकोस्थित ह्वाइट स्यान्ड्समा गहिरा लक्ष्य भेदन गर्ने विशेष भूमिगत परीक्षणहरू अघि बढाएको छ।