अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा नेपाल एक्लै नरहेको बताएका छन्। अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले बाढी र हिमपहिरोका कारण ३६ जना अस्ट्रेलियाली नागरिक अझै बेपत्ता रहेको पुष्टि गरे।
गत अगस्ट २६ (भदौ १०) मा आएको विनाशकारी बाढीले सीमाका दुवैतर्फ क्षति पुर्याए पनि सबैभन्दा बढी प्रभावित नेपाल नै भएको उल्लेख गर्दै उनले धेरै मानिसले आफ्ना प्रियजन, घर र सम्पूर्ण जीवनयापनका आधारहरू गुमाएको बताए। समय बित्दै जाँदा बेपत्ता भएकाहरू जीवितै भेटिने आशा चमत्कारजस्तै बनेको भए पनि सम्पूर्ण अस्ट्रेलियाली जनताको ध्यान बेपत्ताका परिवार र प्रभावितहरूप्रति केन्द्रित रहेको उनले उल्लेख गरे।
नेपालमा आज आयोजित राष्ट्रिय शोक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत पनि ऐक्यबद्धता जनाएका अल्बानिजले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग टेलिफोन वार्ता गरी अस्ट्रेलिया सरकारका तर्फबाट समवेदना प्रकट गरेको जानकारी दिए। उनले अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग निरन्तर समन्वय भइरहेको बताउँदै विपद् राहतका लागि आपत्कालीन कोषमा अस्ट्रेलियाली नागरिकले देखाएको उदारता र मानवीय भावनाको प्रशंसा गरे।