युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने

युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने

  • शनिबार, भदौ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

युक्रेनले सन् २०२७ मा ३२ अर्ब ६ करोड अमेरिकी डलर बराबरको बाह्य वित्तीय अभाव सामना गर्नुपर्ने भएको छ । युक्रेनका अर्थमन्त्री सेर्गी मार्चेन्कोले देशको आर्थिक अवस्था सन् २०२२ को जस्तै तरलता अभावको अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको छ ।

इन्टरफ्याक्स–युक्रेन समाचार संस्थाका अनुसार मार्चेन्कोले सन् २०२२ पछि अहिलेसम्म यस्तो अवस्था नदेखिएको बताउनुभयो । उहाँका अनुसार युक्रेन अहिले आवश्यक वित्तीय स्रोतको अभाव हुने जोखिमसँग निकै नजिक पुगेको छ ।

मार्चेन्कोका अनुसार सन् २०२७ मा युक्रेनलाई कुल ५० अर्ब अमेरिकी डलर बराबरको बाह्य वित्तीय सहयोग आवश्यक पर्ने अनुमान गरिएको छ । तर, आवश्यक रकममध्ये ३२ अर्ब ६ करोड डलर बराबरको रकम जुटाउने स्रोत अझै सुनिश्चित हुन सकेको छैन ।
आवश्यक आर्थिक सहयोग प्राप्त गर्न नसकेमा युक्रेनले गैरसैनिक क्षेत्रमा हुने सरकारी खर्च कटौती गर्नुपर्ने अवस्था आउन सक्ने अर्थमन्त्री मार्चेन्कोले बताउनुभयो । लामो समयदेखि जारी युद्धका कारण देशको सरकारी खर्च र वित्तीय आवश्यकतामाथि ठूलो दबाब परेको अवस्थामा बाह्य सहयोगको अभावले आर्थिक समस्या थप गम्भीर बन्न सक्ने उहाँको भनाइ छ ।
यसैबीच, मार्चेन्कोले युक्रेनलाई आर्थिक सहयोग उपलब्ध गराउन रोक्का गरिएका रुसी सम्पत्तिको प्रयोगसम्बन्धी नयाँ योजना बनाउन युरोपेली सङ्घलाई आग्रह गर्नुभयो । उहाँका अनुसार करिब ३०० अर्ब अमेरिकी डलर बराबरका रोक्का गरिएका रुसी सम्पत्तिमध्ये केही रकम युक्रेनको सहयोगका लागि प्रयोग गर्न सकिने विषयमा विचार गर्न आवश्यक छ ।

युक्रेन सन् २०२२ देखि रुससँगको युद्धमा छ । युद्धका कारण देशको अर्थतन्त्र, सरकारी बजेट र सार्वजनिक वित्तमा निरन्तर दबाब परेको छ । आगामी वर्ष आवश्यक बाह्य वित्तीय सहयोग सुनिश्चित गर्न नसके युक्रेनको गैरसैनिक सरकारी खर्च व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी