पाकिस्तानको लागुऔषध सञ्जालमाथि संयुक्त कारबाही

पाकिस्तानको लागुऔषध सञ्जालमाथि संयुक्त कारबाही

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

संयुक्त राज्य अमेरिका र श्रीलङ्काका लागुऔषध नियन्त्रण निकायले पाकिस्तानबाट सञ्चालित भनिएको अन्तर्राष्ट्रिय लागुऔषध सञ्जालमाथि संयुक्त कारबाही गरी करिब ४६३ किलो क्रिस्टल मेथाम्फेटामाइन बरामद गरेका छन् । प्रहरीले बुधबार जनाएअनुसार घटनामा दुई पाकिस्तानी नागरिकसहित तीन जना पक्राउ परेका छन् ।

सप्ताहन्तमा कोलम्बो आइपुगेको ढुवानी कन्टेनरबाट बरामद उक्त लागुऔषधको मूल्य करिब दुई करोड १० लाख अमेरिकी डलर रहेको कोलम्बोस्थित अमेरिकी दूतावासले जनाएको छ । नुहाउने तौलियाभित्र लुकाएर ल्याइएको लागुऔषध श्रीलङ्का हुँदै अन्तर्राष्ट्रिय बजारमा तस्करी गर्ने तयारी गरिएको बताइएको छ ।

अमेरिकी औषधि प्रवर्तन प्रशासन (डीईए) र श्रीलङ्का प्रहरीको नार्कोटिक्स ब्युरोले अगस्ट १४ देखि २९ सम्म पाकिस्तानबाट पठाइएका कन्टेनर निगरानीमा राखेर संयुक्त कारबाही गरेको दूतावासले जनाएको छ । प्रहरी उपमहानिरीक्षक अशोक धर्मसेनाले गोप्य सूचनाका आधारमा कारबाही गरिएको र घटनामा एक श्रीलङ्काली नागरिक पनि पक्राउ परेको बताउनुभएको छ ।

उहाँका अनुसार गत अक्टोबरयता श्रीलङ्कामा लागुऔषधविरुद्धको अभियानका क्रममा करिब १४ टन अवैध लागुऔषध बरामद भइसकेको छ । सार्वजनिक सुरक्षामन्त्री आनन्द विजेपालाले अधिकांश अवैध लागुऔषध अफगानिस्तान र पाकिस्तानबाट समुद्री मार्ग हुँदै श्रीलङ्का भित्रिने गरेको बताउनुभएको छ ।

करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको श्रीलङ्कामा अनुमानित चार लाख लागुऔषध प्रयोगकर्ता रहेको मन्त्री विजेपालाले संसद्लाई जानकारी दिनुभएको छ । सन् २०२४ को अक्टोबरमा अदालतले हेरोइन तस्करीमा संलग्न १० जना इरानी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको थियो । यस्तै, सन् २०१६ को डिसेम्बरमा भारततर्फ पठाउन लागिएको काठको कन्टेनरबाट ८०० किलो कोकेन बरामद भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी