काठमाडौँ। हर्मुज जलमार्गमा अमेरिका र इरानबिच पुनः सैन्य तनाव चर्किएको छ। हर्मुज जलमार्गमा बारुदी सुरुङ (माइन्स) बिछ्याउने तयारी गरेको आरोपमा अमेरिकाले इरानमाथि हवाई हमला गरेपछि जवाफमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डातर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार गएराति इरानको लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण प्रणालीलाई लक्षित गरी हवाई हमला गरिएको हो। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी) ले हर्मुज जलमार्गमा बिछ्याउन विस्फोटक पदार्थ बोकेका रकेट प्रहारको तयारी गरिरहेको देखिएपछि व्यावसायिक जहाज र अन्तर्राष्ट्रिय व्यापारको सुरक्षाका लागि उक्त कदम चालिएको सेन्टकमले जनाएको छ। सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सले व्यावसायिक आवागमनको स्वतन्त्रता जोगाउन आवश्यक परे थप कारबाहीका लागि तयार रहेको बताएका छन्।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार अमेरिकी ड्रोन हमलामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जुलाईको अन्त्यपछि इरानी भूभागभित्र अमेरिकी सेनाको यो पहिलो सैन्य कारबाही हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजमा नयाँ समुद्री सुरुङ राख्ने जुनसुकै जहाज वा डुङ्गालाई तत्काल नष्ट गरिने भन्दै ट्रुथ सोसलमार्फत ‘शून्य सहनशीलता’ को नीति लागू भएको चेतावनी दिएका थिए।
अमेरिकाको उक्त हमलापछि आक्रोशित बनेको इरानले जवाफी कारबाहीस्वरूप जोर्डनस्थित अमेरिकी सैन्य अड्डातर्फ कैयौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। यद्यपि, प्रहार गरिएकामध्ये आठवटा क्षेप्यास्त्रलाई जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले बीचैमा विफल पारिदिएको र कुनै पनि क्षेप्यास्त्र अमेरिकी सैन्य अड्डामा नखसेको जनाइएको छ। यसबाट कुनै मानवीय वा भौतिक क्षति भने भएको छैन।
विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा तथा व्यापारिक समुद्री मार्ग मानिने हर्मुज जलमार्गमा भएको यो पछिल्लो सैन्य मुठभेडले विश्वव्यापी ऊर्जा आपूर्ति र व्यापारमा पुनः जोखिम बढाएको छ।