अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढेको छ। हर्मुज जलमार्गमा बारुदी सुरुङ बिछ्याउने तयारी गरेको आरोप लगाउँदै अमेरिकाले इरानी क्षेत्रमा हवाई हमला गरेपछि इरानले पनि जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार गएराति इरानको लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण प्रणालीलाई लक्षित गरी हवाई हमला गरिएको हो। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)का सैनिकहरूले हर्मुज जलमार्गमा बिछ्याउन विस्फोटक पदार्थ बोकेर रकेट प्रहारको तयारी गरिरहेको देखिएपछि कारबाही गरिएको अमेरिकी दाबी छ। सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सले व्यावसायिक जहाज र विश्वव्यापी व्यापारको सुरक्षाका लागि थप कारबाही गर्न पनि अमेरिकी सेना तयार रहेको बताउनुभएको छ।
इरानको निकट मानिने तस्निम समाचार एजेन्सीका अनुसार अमेरिकी ड्रोन हमलामा परि दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घटनापछि आइआरजिसीले कडा विरोध जनाउँदै जवाफी कारबाहीको चेतावनी दिएको थियो।
यसैबीच, इरानले जवाफी कारबाहीस्वरूप जोर्डनस्थित अमेरिकी सैन्य अड्डातर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। यद्यपि, प्रहार गरिएका आठवटा क्षेप्यास्त्रलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै असफल पारिदिएको जोर्डनको सेनाले जनाएको छ। घटनामा अमेरिकी सैन्य अड्डामा कुनै क्षति वा हताहती भने नभएको बताइएको छ।
गत जुलाईमा हर्मुज जलमार्गको समुद्री सुरुङ हटाउने अभियान सकिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ सुरुङ नराख्न कडा चेतावनी दिनुभएको थियो। ट्रम्पले सामाजिक सञ्जालमा ‘शून्य सहनशीलताको नीति’ पूर्ण रूपमा लागू हुने उल्लेख गर्नुभएको थियो।
विश्वको महत्त्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्ग मानिने हर्मुज जलमार्गमा पछिल्लो समय घटेको यस घटनाले विश्वव्यापी ऊर्जा आपूर्ति र व्यापारमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।