संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आइएमओ) ले फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण स्ट्रेट अफ हर्मुजमा करिब छ हजार नाविकहरू फसेको जनाइएको छ ।
आइएमओका महासचिव आर्सेनियो डोमिङ्गेजले द्वन्द्व सुरु भएको छ महिनाको अवधिमा करिब छ हजार नाविक बोकेका ४०० वटा जहाज सुरक्षित रूपमा खाडीबाट बाहिरिन असमर्थ रहेको बताउनुभएको छ । यसअघि दुई जहाजहरूमा लगभग २० हजार नाविकहरू रहेको जनाइएको थियो भने केही जहाजहरू र तिनीहरूका चालकहरू यस क्षेत्र छोड्न सक्षम भए पछि तथ्याङ्क संशोधन गरिएको थियो ।
उहाँले स्ट्रेट अफ हर्मुज एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्ग भएको बताउँदै त्यहाँबाट विश्वव्यापी तेल आपूर्तिको लगभग २०% आगमन हुने र हाल समुद्री यातायातको लागि बन्द रहेको बताउनुभएको छ ।
आइएमओकी प्रवक्ता जोसेफिन लाटु–स्यानफटले यस क्षेत्रका हजारौँ नाविकहरू बढ्दो जोखिम र अनिश्चितताको अवस्थामा बस्न र काम गर्न बाध्य रहेको बताउनुभएको छ ।
इन्धन, मल र अन्य आवश्यक वस्तुहरूका लागि महत्वपूर्ण आपूर्ति श्रृङ्खलामा अवरोधले विश्वभरिका समुदाय र अर्थतन्त्रहरूमा असर पार्ने चेतावनी दिँदै उहाँले सङ्कटको प्रभाव अल्पकालीन तथा दीर्घकालीन रुपमा रहने बताउनुभएको छ ।
आइएमओले स्ट्रेट अफ हर्मुज हुँदै पारवहन मार्गको अधिकार सुनिश्चित गर्न नयाँ राजनीतिक इच्छाशक्ति र सहयोगको आवश्यकतामा जोड दिएको छ । यसले द्वन्द्व सुरु भएदेखि अन्तर्राष्ट्रिय जहाजमा कम्तीमा ७० वटा आक्रमण भएको पुष्टि गर्दै आक्रमणजन्य घटनाबाट १९ जना नाविकको मृत्यु भएको जनाएको छ ।