अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कनाडाई वस्तुहरूमा ५० प्रतिशतसम्म भन्सार शुल्क (ट्यारिफ) बढाएपछि जवाफी कारबाही स्वरूप कनाडाले पनि भारी करको घोषणा गरेको छ। दुई देशबीचको व्यापार वार्ता असफल भएसँगै कनाडाले करिब २० अर्ब अमेरिकी डलर मूल्य बराबरका ७०० भन्दा बढी अमेरिकी सामानमा १५ देखि ५० प्रतिशतसम्म जवाबी ट्यारिफ लगाउने निर्णय गरेको हो। अमेरिकाले अघिल्लो सातादेखि नै नयाँ कर लागू गरिसकेको छ भने कनाडाको यो नयाँ नियम आगामी सेप्टेम्बर ८ (भदौ २३) देखि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ।
कनाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाको यो कदमको तीव्र आलोचना गर्दै ट्रम्प प्रशासनले कनाडालाई आफ्नो दबाबमा राख्न र यहाँका प्रमुख उद्योगहरू ध्वस्त पार्न खोजेको आरोप लगाएका छन्। अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले कनाडाई नेताहरूलाई अमेरिकाको सर्त मान्न चेतावनी दिँदै नमानेमा कनाडाई गाडी, पार्टपुर्जा र स्टिलमा थप कठोर कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले ओन्टारियो तालको नाम बदलेर ‘लेक अमेरिका’ राख्ने विवादास्पद अभिव्यक्तिसमेत दिएपछि दुई देशबीचको कूटनीतिक तथा व्यापारिक तनाव चरम विन्दुमा पुगेको छ।
प्रभाव पर्ने प्रमुख सामान र आर्थिक राहत
५०% सम्म कर लाग्ने वस्तुहरू: स्टिल, एल्युमिनियम, फर्निचर, कपडा, पल्प तथा कागज र केही इलेक्ट्रोनिक्स सामग्री।
२५% कर लाग्ने वस्तुहरू: घरायसी उपकरण, पनीर लगायतका डेरी उत्पादन, माछा तथा समुद्री खाद्य पदार्थ।
दैनिक उपभोग्य सामग्री: सौन्दर्य प्रसाधन, ट्वाइलेट पेपर लगायतका ७०० भन्दा बढी उपभोग्य वस्तु।
कनाडाई अधिकारीहरूका अनुसार यो कदम राजस्व उठाउन नभई स्वदेशी उद्योगको रक्षा गर्न र अमेरिकी आयात निरुत्साहित गर्न चालिएको हो। यसअघि २५ प्रतिशत कर लगाउँदा नै अमेरिकाबाट हुने स्टिल आयात ३० प्रतिशतले घटिसकेको र नयाँ ५० प्रतिशत करले आयात अझै घटाउने अनुमान गरिएको छ।
यसैबीच, ट्यारिफ युद्धका कारण प्रभावित हुने आफ्ना व्यवसायी र कर्मचारीहरूलाई राहत दिन कनाडा सरकारले ७.५ अर्ब कनाडाई डलर (करिब ५.४ अर्ब अमेरिकी डलर) को विशेष आर्थिक सहायता प्याकेजसमेत घोषणा गरेको छ।